प्रहर खबर
 २०७९ असार १२, आईतबार    

एन्फा अध्यक्षमा पंकज निर्वाचित

२०७९ असार ७, मंगलबार ०९:३६ बजे

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । एन्फाको सोमबार काठमाडौंमा भएको २१औं चुनावी साधारण सभाबाट पंकज निर्वाचित भएका हुन् ।

पंकजले अध्यक्षका प्रत्यासी कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गरेका हुन् । एन्फा निर्वाचनमा खसेको कूल ८४ मत मध्ये पंकजले ४५ र कर्माले ३९ मत प्राप्त गरे । अध्यक्षको अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन् ।

अघिल्लो कार्यकाल कर्माछिरिङ र पंकजविक्रम एउटै टिममा रहेका थिए । यसअघि कर्मा अध्यक्ष हुँदा पंकज वरिष्ठ उपाध्यक्ष थिए ।

 नयाँ नेतृत्वमा चुनिएका पंकजबिक्रमले कार्यसमितिमा स्पष्ट बहुमत प्राप्त गरेका छन् । एन्फाको २१ सदस्यीय कार्यसमितिमा नेम्वाङ प्यानलका १२ जनाले र शेर्पा प्यानलबाट एक उपाध्यक्ष सहित ७ जनाले चुनाव जितेका छन् ।

चार जनाको मत बराबर आएपछि दुई जना खुल्ला केन्द्रिय सदस्यको टुङ्गो सोमबार लाग्न सकेन । उनिहरुको अर्को साधारण सभाले केन्द्रिय सदस्यको टुङ्गो लगाउने भएको छ ।

वरिष्ठ उपाध्यक्षमा पंकजविक्रम प्यानलका वीरबहादुर खड्काले जित हात पारे । खड्काले ४४ मत प्राप्त गर्दा पराजुलीले ४० मत प्राप्त गरे ।

उपाध्यक्षमा पंकजविक्रम प्यानलबाट तीन जना निर्वाचित भएका छन् भने अध्यक्षमा पराजित कर्माछिरिङको प्यानलबाट एक जना निर्वाचित भएका छन् । जसमा दावा लामा(४८), दिपक खतिवडा(४७), बिराट जंग शाही(४७) र दुर्गा बहादुर केसी(४३) मत सहित निर्वाचित भए । केसी कर्माछिरिङको प्यानलबाट निर्वाचित भएका हुन् ।

उपाध्यक्षका प्रत्यासी सुन्दर नरसिंह जोशी, उपेन्द्र मान सिंह, विज्ञानराज शर्मा र रत्न कुमार श्रेष्ठ पराजित भए । जोशी नेम्वाङ प्यानलबाट थिए भने अन्य शेर्पा प्यानलबाट उपाध्यक्षका प्रत्यासी बनेका थिए । 

 खुल्ला केन्द्रिय सदस्यमा मनिष जोशीले (४८), अनिल मल्लले (४७), रबिन्द्र चन्दले (४६), विकास नारायण श्रेष्ठले (४४), भोजराज शाहीले (४४), महेन्द्र क्षेत्रीले (४४), पुरुषोत्तम थापाले (४३), रमेश ब्यन्जनकारले (४३), मनिराज विष्टले (४२), टिका लामाले (४१), भरतबुढ थापाले (४०) मत प्राप्त गर्दै निर्वाचित भए ।

दिपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरे । बराबर मत प्राप्त गरेका चार जनाको टुङ्गो आसन्न साधारण सभाले लगाउने गरि निर्णय भएको हो ।

खुल्ला केन्द्रिय सदस्यमा निर्वाचित अनिल मल्ल, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा र सरिला श्रेष्ठ नेम्वाङ प्यानलका हुन् । सर्वाधिक मत ल्याएका मनिष जोशी, रमेश ब्यन्जनकार, मनिराज विष्ट, टिकाराम लामा, भरतबुढ क्षेत्री र पेमा डोल्मा शेर्पा प्यानलका हुन् ।

महिला सदस्यमा निर्वाचित सरिला श्रेष्ठले ४६ र पेमा डोल्मा लामाले ४३ मत प्राप्त गरिन् । महिला सदस्यका उम्मेदवार विन्द्रा देवान र विना श्रेष्ठ पराजित भए । कार्यसमितिको पहिलो बैठकले संघको महासचिव र कोषाध्यक्ष मनोनयन गर्नेछ । एन्फाको नयाँ कार्यसमिति २३ सदस्यीय बन्नेछ ।