हेटौंडा – रौतहटको चन्द्रपुर नगरपालिका २ लच्कामा आज बिहानै बसको ठक्करबाट रिक्सामा सवार ३ जनाको मृत्यु भएको छ भने १ महिला घाइते भएकी छिन् ।
मृत्यु हुनेमा रिक्सा चालक सर्लाहीको बाग्मती नगरपालिका २ सोल्टीका ३८ वर्षीय रवि मगर, रिक्सामा सवार सोही ठाउँका ३८ वर्षीय प्रेम ठाडा मगर, ४५ वर्षीय ढक बहादुर लुंगेली मगर रहेका छन् । तीनै जनाको उपचारको क्रममा चन्द्रपुर अस्पतालमा मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
घाइते भएकी ढक बहादुरकी श्रीमती सविनालाई भने थप उपचारको लागि वीरगञ्ज स्थित न्यूरो अस्पताल पठाइएको छ । काठमाण्डौबाट सर्लाही जाँदै गरेको बाग्मती प्रदेश–०३–००१ ख २०१ नम्बरको बसले प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई आज बिहान ५ बजे ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।