प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

हेटौंडामा पाँच लाखको मनमौजी साइकल लेन, सडकमा ठेलमठेल

२०७९ जेठ ३१, मंगलबार १९:५८ बजे

हेटौंडा – यहाँ साँघुरो सडकमा साइकल लेन बनेपछि चौतर्फी विरोध भएको छ । यति साँघुरो सडकमा साईकल लेन ! अनि अटो र मयुरीको चाप, सडक पेटिमा फुटपाथ, अब्यवस्थित पार्किङ्ग, सडक जाम । सडक वढाउनेमा ध्यान छैन ? यी अनेक अनेक लेन भनेर पैदल यात्री, शरिरीक अशक्त हिडने लेन चाहिँ खोई ? भन्दै सर्वसाधरणले प्रश्न गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाले साँघुरो सडकमा साईकल लेन बनाएपछि सामाजिक सञ्जालमा ब्यापक विरोध भइरहेको छ । साइकल लेनको आवश्यक छ तर साँघुरो सडकमै साइकल लेन बनाउँनु उपयुक्त नभएको सर्वधारण बताउँछन् ।

प्राप्त जानकारी अनुसार हेटौंडाको करिब ३ किलोमिटर सडकको दायाँबायाँ साइकल लेनको रेखाङ्कन गर्ने योजना रहेको छ । हाल बुद्धचोकबाट चारैतर्फ करिब पाँच सय मिटर साइकल लेन बनाइएको छ । साइकल लेन बनाईएको स्थान अधिकांश सवारीसाधन पार्किङ्ग स्थल हो । त्यहाँ दुई पांग्रेदेखि ठुला सवारी साधनसम्म पार्किङ्ग गरि राखिएको देख्न सकिन्छ ।

साइकल लेन बनाएपनि प्रयोग गर्न नपाइने निश्चत छ । साइकलको लागि लेन बनाएपनि गुडाउन नपाइएको भन्दै लेन निर्माण सम्पन्न नहुँदै साइकल यात्रीहरुको गुनासो समेत आएको छ । “साइकल लेन भनेर बनाएको छ, प्रयोग नै गर्न नपाएपछि यो हेटौंडा उपमहानगरको नाटक हो, कि नौटंकी हो ?” भन्दै साइकल यात्रीले नै गुनासो पोखे । “यो राम्रो काम हो । चर्चा पाउँनकै लागि अब्यवस्थित तरिकाबाट गर्नु चाहिँ राम्रो भएन ।” उनले भने ।

पुर्ब–पश्चिम राजमार्ग अन्तर्गत सवारी गुडाउन मिल्ने हेटौंडा बजारको सडक १० मिटर रहेको भने कान्तिलोकपथको १४ मिटर । सो क्षेत्रमा सडकको दुबैतर्फ करिब एक–एक मिटर भन्दाबढीको साइकल लेन बनाइएको छ । साँघुरो सडकमा बनाइएको डिभाइडरको कारण लामो समयदेखि समस्यामा रहेका सर्वसाधरण र ब्यवसायीहरुले साइकल लेन बनाएपछि आफुहरु थप समस्यमा पर्ने बताए । सडकमा बनाइएको डिभाइडरको कारण नियमित सवारी जाम र दुर्घटना हुने गर्दछ ।

अनुमति बिना नै साइकल लेन
एक सरकारी निकायको स्वामित्वमा रहेको योजना अर्को सरकारी निकायले बिना अनुमति सो योजनामा अनुमति वा स्वीकृती बिना काम गर्न पाइदैन । तर हेटौंडा उपमहानगरपालिकाले सडक विभागको स्वामित्वमा रहेको सडकमा विना स्वीकृती साइकल लेन बनाएको छ । यस कुरा पुष्टि सडक डिभिजन कार्यालय हेटौंडाका सुचना अधिकारी लोमस उपाध्यायले गरे । ‘जुन सडकमा साइलक लेन बनाएको छ, त्यो सडक हाम्रो स्वामित्वमा पर्छ,’ उनले भने,‘साइकल लेन बनाउने बिषयमा कुरा भएको हो, तर सडक डिभिजनले स्वीकृती वा कार्याआदेश दिएको छैन ।’

उनले सडक डिभिजनको स्वामित्वमा रहेको सडकमा साइकल लेन राख्न मिल्ने मापदण्ड पनि नभएको बताए । ‘स्थानीय सरकारले आफ्नो स्वामित्वको सडकमा राख्छ भने त्यो अर्कै कुरा, हाम्रो साइकल लेन राख्ने नियम छैन,’उनले भने,‘सडक फराकिलो भएको अवस्था छुट्टै कुरा, रोड पनि साँघुरो छ ।’

यस विषयमा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामासंग कुरा बुझ्न फोन सम्पर्क गर्दा आफु कार्यक्रममा हरेको बताउँदै फोन काटिन् । केही सयमपछि सम्पर्क गर्दा उनको फोन उठेन । उपमहानगरले आगामी दिनमा बन्ने सडकमा साइकल लेन अनिवार्य राख्न दवाव दिने उद्धेश्यले लेन निर्माणको पाँच लाख बजेट विनियोजन गरेको हो ।

तस्बिरः सामाजिक सञ्जालबाट