प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

मकवानपुरमा लागुऔषधसहित ७ जना पक्राउ

२०८१ पौष १२, शुक्रबार १९:२१ बजे

हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडाको विभिन्न स्थानबाट ७ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। हेटौंडा–१७ हटिया र पुरानो मकवानपुर रोडबाट खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरिएको हो।

बिहीबार राति ९ बजे हेटौंडा–१७ हटिया दाविलेस्थित विदन कुमार भुजेलको घरमा विशेष सूचनाको आधारमा छापा मार्दा २.५४ ग्राम खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूमा ३२ वर्षीय विदन कुमार भुजेल र बारा विश्रामपुर गाउँपालिका–८ नकाटुवा टोल निवासी २१ वर्षीय शेख आजाद रहेका छन्।

उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

त्यसैगरी, बिहीबार दिउँसो ३ बजे पुरानो मकवानपुर रोडस्थित शिशिर राजथलाको घरमा छापा मारेर ४ ग्राम लागुऔषधसहित थप ५ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा ३१ वर्षीय शिशिर राजथला, ३० वर्षीय निरन श्रेष्ठ, ३५ वर्षीय सुदिप भुर्तेल, हेटौंडा–४ निवासी ३० वर्षीय असिम कुमार बर्तौला, र हेटौंडा–१ निवासी ३० वर्षीय ओम साह रहेका छन्।

पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।