प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

आफ्नै नवजात शिशुलाई जङ्गलमा फालेपछि ...

२०७९ माघ १०, मंगलबार ०२:४६ बजे

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जंगलमा भर्खर जन्मेको आफ्नो बच्चा फाल्ने बाबुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुहबी–१० का ३३ वर्षीय अमितलाल चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए। उनका अनुसार चौधरीलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी घटनाको विषयमा अनुसन्धान सुरू गरिएको छ। अमितसँगै पक्राउ परेकी उनकी श्रीमती विन्दुलाई रिहा गरिएको छ।

नवजात शिशु जंगलमा फालेको घटनामा विन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ। माघ ४ गते जन्मिएकी शिशुलाई चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका २ को चारकोसे जंगलमा लगेर फालेका थिए। घाँस दाउराका लागि गएका स्थानीयवासीले नवजात शिशु देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए।

बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो।