प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

आज उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

२०८० फाल्गुन ३०, बुधबार ०८:०१ बजे

काठमाडौँ – हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) भिड्दै छन् । नेपाल र पीएनजीबिचको फाइनल खेल आज विहान ११ः४५ बजे सुरु हुनेछ ।

मंगलबार खेलिएको दोस्रो खेलमा आयोजक हङकङमाथि १० विकेटको सजिलो जित हात पार्दै पीएनजी शृङ्खलाको फाइनलमा पुगेको हो । टस जिती पहिले ब्याटिङको निणर्य लिएको हङकङले १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १२.४ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय २४ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो ।

मंगलबार नै खेलिएको पहिलो खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १६.१ ओभरमा अलआउट हुनुअघि एक सय १३ रनमात्र बनाउन सकेको थियो ।