प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

शैक्षिक सहयोग अक्षयकोषको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

२०८० चैत्र २४, शनिबार २०:४२ बजे

बिश्वराम अधिकारी/मकवानपुर – शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुरको पाँचौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो ।

साधारणसभामा प्रमुख अतिथि पौडेलले पबित्र उदेश्यका साथ स्थापना भएको कोषलाई अगाडी बडाउन सबैले सहकार्य गर्नुपर्ने बताए । उनले शिक्षाको अवसरबाट कोहि पनि बञ्चित हुन नपरोस भन्ने पबित्र उदेश्य संस्थाको रहेको भन्दै यसमा सबैको सहकार्य जरुरी रहेको बताए । मकवानपुर जिल्लामा आवश्यक्ताका आधारमा संस्था स्थापना भएकाले यसलाई जिवन्त बनाउँदै थप सुदृढ बनाउन सबैको प्रयास र प्रयत्न आवश्यक रहेको उनको भनाई थियो ।

उनले मकवानपुर जिल्लामा शिक्षाको अवसरबाट बञ्चित विपन्न, अनाथ, विभिन्न कारणले अभिभावक गुमाएका, विस्थापित एवम् जोखिममा रहेका बालबालिकाका लागि संस्थाले महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा समेत गरे । छोटो समयमा संस्थाले सबै तह र क्षेत्रको सहयोग अनुकरणिय कार्य गरेको उनको भनाई थियो । उनले बिद्यार्थीलाई छात्रवृतिसंगै अभिभावकलाई पढाई प्रति प्रेरणाको खाँचो औल्याउँदै यसतर्फ पनि ध्यान दिन संस्थालाई आग्रह गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष खुलालले शिक्षाको अवरबाट बञ्चित विपन्न, असाहाय अनाथ, विभिन्न कारणले अभिभावक गुमाएका, विस्तापित एवम् जोखिममा रहेका बालबालिकालाई न्युनतम शिक्षाको अवसर दिलाउने तथा शिक्षाका अन्य क्षेत्रमा समेत सहयोग पु¥याउने उदेश्यका संस्था स्थापना भएको बताए । उनले आगामी दिनमा संस्थामा आवद्ध भएर जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउन सबैलाई आग्रह गरे ।

साधारणसभामा संस्थाका सचिव बद्री पाठकले सचिवको र कोषध्यक्ष रामकृष्ण थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थाको अक्षयकोषमा हालसम्म करीब १६ लाख रुपैयाँ जम्मा भईसकेको छ । संस्थामा हालसम्म आजिवन सदस्य ८० जना, विशिष्ट सदस्य १० जना, साधारण सदस्य १७ जना र संस्थागत सदस्य २४ जना गरि कुल १३१ जना सदस्य आवद्ध हुनु भएको छ ।

९ जनालाई छात्रवृति प्रदान
साधारण सभाका अवसरमा संस्थाले मकवानपुर जिल्लाका कक्षा १० देखि १२ सम्मका ९ जना बिद्यार्थीहरुलाई छात्रबृति समेत प्रदान गरेको छ । संस्थाले कक्षा ११ र १२ का ६ जनालाई जनही १० हजारका दरले र कक्षा ९ र १० का ३ जनालाई ८ हजारका दरले छात्रबृति प्रदान गरेको थियो ।

संस्थाको कार्यविधि अनुसार निवेदन आव्हान गरेका मध्ये छनौट समितिको सिफारिस अनुसार कक्षा १२ मा अध्यनरत महेन्द्र किरण मावि मनहरी–७ , का अजय प्रजा, सुस्मिता बोटे, सपना घलान, भूमिका विष्ट, सितास घिमिरे र प्रगति मावि हेटौंडा–९, मा कक्षा ११ मा अध्यनरत विपन खनाललाई नगद १० हजार तथा रोटरी मावि मनहरीमा कक्षा १० मा अध्यनरत मिठुकुमारी कोइरला र कक्षा ९ मा अध्यनरत सौगात गोले तथा जनक मावि बकैयामा कक्षा ९ मा अध्यनरत सलिना माझीलाई जनही नगद ८ हजारका दरले छात्रवृति प्रदान गरेको हो ।

यस्तै संस्थाको वार्षिकोत्वका अवसरमा संस्थाका सचिव बद्रीबहादुर पाठक र रेडियो नेपालकर्मी, बिश्वराम अधिकारी (विवश) लाई संस्थाको प्रगतिका लागि योगदान गरेको भन्दै प्रमाणपत्रद्धारा सम्मान गरेको थियो । कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेल, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीलगायत जिल्लाका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।

मकवानपुर शैक्षिक र स्वास्थ्यको हव बन्दैछ – पौडेल
साधारण सभाका अवसरमा प्रमुख अतिथि पौडेलले मकवानपुर जिल्ला शैक्षिक एवम् स्वास्थ्यको हवका रुपमा विकास भईरहेको बताउनु भएको छ । मकवानपुर जिल्लामा स्वास्थ्य र शिक्षा सम्बन्धी पाँचवटा विश्वविद्यालय नै सञ्चालनमा रहेको भन्दै बिस्तारै शैक्षिक र स्वास्थ्यको हवका रुपमा विकास भईरहेको बताए।

उनले हेटौंडामा वन विज्ञान विश्व विद्यालय, कृषि विश्व विद्यालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी विश्व विद्यालय (थाहा नगरपालिका, चित्लाङ्) सञ्चालनमा आइसकेको र मकवानपुर विश्व विद्यालय (प्रदेश विश्व विद्यालय) सञ्चालनको क्रममा रहेको बताए। अबको १५ दिन पछि मकवानपुर क्याम्पस प्रदेश विश्वका रुपमा सञ्चालनमा आउने उनले बताए ।