प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

युएईले नेपाललाई दियो १७७ रनको लक्ष्य

२०७९ मंसिर २, शुक्रबार ०६:५५ बजे

काठमाडौं – एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा युएईले नेपाललाई जितका लागि १ सय ७७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनाएको हो ।

युएईका लागि आयन अफजल खानले ५४ रनको अर्धशतकीय इनिङ खेले । हजरत बिलालले अविजित २० रन बनाए । मात्र ९३ रन जोड्दा ९ विकेट गुमाएको युएईका लागि आयन र हजरतले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरे। यस्तै अलिशन शराफुले सर्वाधिक ३३ रन, रोहन मुस्तफाले २४ रन र मुहमद वासिमले ११ रन बनाए ।

नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले दुई–दुई विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले १–१ विकेट लिए ।

नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रुपमा रहेको छ । तीन खेलको सिरिज १–१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो । आजको खेल जसले जित्छ, उसैले श्रृंखला आफ्नो पक्षमा पार्नेछ ।