हेटौंटा – प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालय तथा कृषि सामग्री लिमिटेडको निरिक्षण गरेका छन् । जनतालाई मलको कारण परेको समस्याबारे बुझ्न हेटौंडास्थित साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाम अनुगमन गरेका हुन् ।
मल अभाव हुने गरेको अत्याधिक जनगुनासो आएपछि बर्तौलाले किसानलाई मलको वितरणको विषयमा साल्ट ट्रेडिङका कर्मचारीसंग जानकारी लिएका थिए । उनले मकवानपुरको किसानलाई आवश्यक मल वितरणको लागि सरकारसँग समन्वय गर्ने बताए । अनुगमनको क्रममा साल्ट ट्रेडिङ कर्पोरेशन हेटौँडाका प्रमुख मोहन बरालले मकवानपुरमा माग भन्दा कम मात्रामा मल आउने भएको अभाव भएको बताए ।
कृषि सामग्री कम्पनी हेटौँडाका प्रमुख प्रकाश ज्ञावलीका अनुसार जिल्लामा करिब २० हजार मेट्रिक टन मल आवश्यक भएपनि ६ हजार टन मात्र मल आउँदा मल अभाव भएको हो । अनुगमनको क्रममा बर्तौलाले आफुले सरकारसँग मकवानपुरमा मलको मात्रा बढाउन पहल गर्ने बताए । जिल्लामा मलको मात्रा बढाउने प्रतिवद्धता पनि ब्यक्त गरे ।
कैलाश र राक्सिराङ गाउँपालिकाको मल गोदाममै
देशका अधिकांश किसानहरु मल नपाएर चिन्तित छन् । तर मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकाको मल भने करिब एक महिनादेखि गोदाममै थन्किएको छ । सांसद बर्तौलासहित टोलीले साल्ट ट्रेडिङको अनुगमन गर्दा कैलाश र राक्सिराङ मल लिएर नगएको पाईएको हो । साल्ट ट्रेडिङले मकवानपुरको १० वटै स्थानीय तहलाई मतको कोटा छुट्याएको हुन्छ । कोटा परेको मल लैजान चिठ्ठी काटेपनि करिब एक महिनादेखि मल गोदाममै रहेको साल्ट ट्रेडिङ कर्पोरेशन हेटौँडाका प्रमुख मोहन बरालले बताए । दुई पालिकाले डिलरलाई सिफारिस नदिदा मल गोदाममै थप्रिएको छ ।