प्रहर खबर
 २०८१ माघ २, बुधबार    

हेटौंडामा खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने, २१ खेलाडी पुरस्कृत गर्ने

२०८० बैशाख २८, बिहीबार १०:३१ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका, मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको संयुक्त आयोजनामा भोली शुक्रबारदेखि खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ।  प्रतियोगिता बैशाख २९ गतेदेखि जेठ २ गतेसम्म हेटौंडा–११ स्थित स्मारक होटलमा हुनेछ।

बिहीबार सम्पन्न पत्रकार भेटघाटमा प्रतियोगितामा हालसम्म ८१ जनाले भाग लिन नाम दर्ता गराइसकेको नेपाल बुद्धिचाल संघका केन्द्रीय महासचिव एवम् प्रतियोगिता निर्देशक धरम लामाले जानकारी दिए ।  ती मध्ये २० जना मकवानपुर जिल्लाका रहेका छन् भने बाँकी जिल्ला बाहिरको रहेका छन् । समय अवधि बाँकी नै रहेको कारण केही खेलाडी अझै थपिन सक्ने उनले बताए । 

प्रतियोगितामा प्रथम हुनले नगद १ लाख,  द्वितीयले ५० हजार, तृतीयले २५ हजार, चौथो र पाँचौ २०/२० हजार प्रदान गरिने लामाले बताए । त्यस्तै छैठौँदेखि दशैँसम्म स्थान हासिल गर्ने ४ खेलाडीले नगद १५/१५ हजार प्राप्त गर्नेछन् । 

विधागततर्फ उत्कृष्ट हुने लोकल, महिला, भेट्रान, उदयमानहरु यू–१२, यू–१४, यू–१६ र यू–१८ का साथै, न्यूतम् १४०० र अधिम् १८०० यूनिटका एक–एक जना खेलाडीले १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । जहाँ विधागततर्फ ११ र खुल्ला प्रतिस्पर्धातर्फ गरी २१ जना खेलाडीहरु पुरस्कृत हुने छन् । 

स्विस लिग प्रणाली अनुसार सञ्चाल हुने प्रतियोगितामा ९ खेल हुनेछन् । उनीहरुले खेल प्रर्दशनको आधारमा रेटिङ पाउने छन् । उत्कृष्ट रेटिङ प्राप्त गर्ने खेलाडीहरु प्रथम,द्वतीय,तृतिय क्रमशः स्थान हासिल गर्नेछन् । 

प्रतियोगितामा २० लाख २ हजार खर्च हुने आयोजकको अनुमान छ । पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठसहित बुद्धिचाल संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।