हेटौंडा – सार्वजनिक यातायातका साधनमा यात्रा गर्ने यात्रुले राजमार्ग आसपासमा फ्याक्ने फोहरलाई सफा गर्ने अभियान हेटौंडा उपमहानगरपालिकाबाट थालिएको छ । सडकका किनारामा देखिने जंगफुडका प्लाष्टिक, पानीका बोतल सहितका फोहरहरु संकलन गर्दै राजमार्गलाई सफा राख्ने अभियान बागमती प्रदेश सरकार तथा स्थानिय तहसँगको सहकार्यमा डिभिजन वन कार्यालय हेटौंडाले थालेको हो ।
मकवानपुर भएर जाने सबै राजमार्गको सडक किनारामा फ्याकिएको प्लाष्टिक सहित अन्य फोहरहरु संकलनको कार्य थालेको डिभिजन वन कार्यालय हेटौंडाका सहायक वन अधिकृत बसन्तराज गौतमले बताए। पुर्वपश्चिम राजमार्गको बारा र मकवानपुरको सिमाना चुरीयामाईबाट सुरु गरेको अभियानलाई सनिवार हेटौंडा उपमहानगरपालिका राप्ति किनारा सम्म पुर्याइएको छ । वन अधिकृत गौतमका अनुसार हटौंडा–१५ चुरीयामाईमा बागमती प्रदेशका वन मन्त्री विशाल खड्काले अभियानको उद्घाटन गरेका थिए ।
शनिवार हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले हेटौंडा बजार क्षेत्रमा पर्ने राजमार्गको सडक किनाराको फोहरलाई संकलन गर्दै कार्यक्रमको उद्घाटन गरिन्। सार्वजनिक यातायातमा "जथाभावी फोहर नफालौं, सडक किराना सफा राखौं" जस्ता सचेतना मुलक नारा लेखिएको स्टिक टाँस गरेको वन अधिकृत गौतमले जानकारी दिए । उनका अनुसार पूर्वपश्चिम राजमार्ग सहित धरान–चतना(मदन भण्डारी मार्ग), कान्तिलोकपथ खण्ड, त्रिभुवन राजपथ र हेटौंडा–काठमाण्डौं छोटो दुरीका मार्गको सडक किनारालाई अभियान सञ्चालन गर्दै सफा गरीने छ ।
कार्यालयले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, सवारी चालक, सहचालकका लागि यात्राको क्रममा पालना गर्नुपर्ने आचारसंहिता बनाएर अभियानलाई अभि बढाएको वन अधिकृत गौतमले जानकारी दिए । यातायात व्यवसायी संघको सहकार्यमा अब सवारी भित्र डस्विनको व्यवस्था गर्दै सार्वजनिक रुपमा फोहर फाल्ने अवस्थालाई रोक्ने कार्यपनि अघि बढाईएको उनले बताए । हेटौंडाको बुद्धचौकदेखि राप्तिसम्मको १० नम्बर वडा क्षेत्रको सफाई अभियान वडा अध्यक्ष फुर्वा लामाको अध्यक्षतामा भएको थियो । सफाई अभियानमा नेपाल प्रहरी, स्थानिय जनप्रतिनिधी, स्थानिय बासिन्दा, वनरक्षकहरुको सहभागिता रहँदै आएको थियो ।