प्रहर खबर
 २०७९ असार १२, आईतबार    

चौंथो सहिद स्मृती मकवानपुर गोल्डकप जेठ १९ गतेबाट शुरु हुने

२०७९ जेठ १२, बिहीबार १६:०७ बजे

हेटौंडा – चौंथो संस्करणको स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकप(अन्तराष्ट्रिय फुटबल प्रतियोगिता)–२०७९ जेठ १९ गतेबाट शुरु हुने भएको छ। बिहिबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरी जेठ १९ देखि २९ गतेसम्म हुने प्रतियोगिताका संयोजक प्रताप बिष्टले जानकारी दिए ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा नेपालमा रहेका ए डिभिजन फुटबल क्लब, मोफसलका क्लब, विदेशी टिम र आयोजकको तर्फबाट विजय युथ क्लबको सहभागिता रहने संयोजक बिष्टले जानकारी दिए ।

यस संस्करणबाट पुरस्कार पनि बढाइएको छ । प्रतियोगिताको विजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछन् । यसअघि विजेतालाई १० र उपविजेतालाई ५ लाख प्रदान गरिएको थियो ।

त्यस्तै विधागत उत्कृट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन्।

प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ । यसअघिको तीन वटा सस्करण हेटौंडा–१० वनविज्ञान अध्ययन संस्थान(फरेष्टी)मा भएको थियो । प्रतियोगितामा दर्शकका लागि एक सय, दुई सय र दुई सय पचास टिकट शुल्क लाग्ने आयोजकले जनाएको छ ।

मकवानपुरको १० वटा स्थानीय तहको सहयोगमा हुने प्रतियोगितामा १ करोड १७ लाख ९२ हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता संचालनको लागि सरकारी निकाय जिल्लाको १० पालिका, बागमती प्रदेश सरकार र जिल्ला समन्वय समितिबाट ८८ लाख सहयोग प्राप्त हुने आयोजकले जनाएको छ ।

त्यस्तै प्रायोजकबाट ८ लाख, ब्यक्तिगत तथा संस्थागतबाट ४ लाख ७५ हजार, विविधबाट ९२ हजार रकम प्राप्त हुने अनुमान गरिएको छ भने टिकट विक्रीबाट १६ लाख २५ हजार रुपैयाँ रकम संकलन गर्ने आयोजकले लक्ष्य लिएको छ । 

तेस्रो संस्करणको प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो भने घरेलु टोली मकवानपुर–११ उपविजेता बनेको थियो।

२०६२–०६३ को जनआन्दोलनका सहिदहरुको स्मृतिमा २०६४ सालमा जिल्ला फुटबल संघ मकवानपुरले पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गरेको थियो । पहिलो पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लब र  २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो ।