प्रहर खबर
 २०८१ मंसिर २९, शनिबार    

स्वास्थ्य बीमा बोर्डको लापरवाही, मकवानपुरका सेवाग्राही मारमा

२०८० मंसिर ४, सोमबार १९:१६ बजे

हेटौंडा – स्वास्थ्य बीमा नियावली २०७५ का अनुसार “स्वास्थ्य बिमा” दर्ता होस् या नविकरणको निवेदन अवधि तीन–तीन महिना, बर्षको चार पटक तोकिएको हुन्छ । त्यसको पाँचौ महिनामा स्वास्थ्य बीमा सेवा सुविधा सुचारु हुने कानुनी प्रावधान छ । तर मकवानपुरमा नविकरण गर्न रकम भुक्तानी बुझाएकाहरुको तोकिएको अवधि पार गर्दा समेत स्वास्थ्य बीमा सुचारु हुन सकेको छैन ।

हेटौंडा उपमहानगरपालिका वडा नं.१६ का श्याम लामाले गत साउनमा आफ्नो ५ सदस्यको बीमा गर्न नविकरण रकम भुक्तानी गरे । उनको यही मंसिरको १ गते सेवा सुचारु हुनुपर्नेमा अझै हुन सकेको छैन । श्यामको आफ्नो ७५ बर्षीय आमा मान कुमारी गत असोजदेखि हेटौंडा अस्पतालमा उपचाररत छन् । बीमा सुधिवा सुचारु नहुँदा समस्यामा परेको गुनासो गरे ।

त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नं.६ का महेन्द्र श्रेष्ठले पनि असारमै नविकरण वापदको रकम बुझाएका थिए । भदौ १ गते नै सुचारु हुनुपर्नेमा मंसिर १ गतेसम्म पनि श्रेष्ठ परिवारले बीमा सुविधा उपभोग गर्न पाएनन् । “मंसिर १ गते शुक्रबार स्वास्थ्य बीमा चालु नभएकै कारण छोराको आखाँको अप्रेशन गराउन पाइन,” उनले भने,“मैले अस्पताल पुर्याएको विरामी घर फर्काउनु पर्यो, यो बीमा वोर्डको सरासर लापरवाही हो ।”

स्वास्थ्य बीमा बोर्ड मकवानपुरका दर्ता अधिकारी नरबहादुर खड्का कर्मचारी अभावका कारण बीमा नविकारण हुन नसकेको बताउँछन् । “हाम्रो कार्यालयको दरबन्दी ६ जनाको हो, अहिले हामी ४ जना मात्रै छौँ,” उनले भने, “६ जना कर्मचारीले गर्ने काम ४ जनाले गर्दा नभ्याएको हो ।” खड्काका अनुसार चालुआर्थिक बर्षमा नविकारणका लागि आएका करिब ५० प्रतिशत स्वास्थ्य बीमाका निवेदनहरु सुचारु हुन बाँकी छ । स्वास्थ्य बीमा एक्टिभ नभएकाहरुको आजैबाट क्रमशः सुचारु हुँदै जाने खड्काले बताए ।

बीमा गर्नेको सङ्ख्या बढ्दै
मकवानपुरमा स्वास्थ्य बीमा गर्ने ३० हजार ५०२ जना थपिएका छन् । यससंगै जिल्लामा बीमा गर्नेको संङ्ख्या २ लाख १० हजार ५५१ पुगेको दर्ता अधिकारी खड्काले जानकारी दिए । गत बर्षसम्म एक लाख ७२ हजार ४९ जनाले स्वास्थ्य बीमा गराएका थिए । बीमा नविकरण गराउनेको करिब ९२ प्रतिशत रहेको उनको भनाई छ ।