प्रहर खबर
 २०८१ चैत्र २, शनिबार    

रुसी सेनामा भर्ती भएका ढकाल पनि युक्रेनी सेनाको नियन्त्रणमा

२०८० मंसिर २१, बिहीबार ०९:२० बजे

काठमाडौँ – रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्न गएका मन्डनदेउपुर–६, काभ्रेका २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । उनलाई मंसिर १७ गते युक्रेनको जेपोरोजिया क्षेत्रबाट पक्राउ गरिएको हो । युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीको संख्या २ पुगेको छ ।

युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोअनुसार ढकालसहित ५ जना रुसी सेनालाई पक्राउ गरिएको हो । युक्रेनी सेनाले जेपोरोजियास्थित हिउँले भरिएको क्षेत्रमा तैनाथ रहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको समाचार इकान्तिपुरमा प्रकाशित छ । युक्रेनी सेनाले उनीहरूलाई पक्राउ गरी गाडीबाट लैजाँदै गरेको, एउटा कोठामा राखिएको र आफ्नोबारे पूरा विवरण दिइरहेकोसम्बन्धी अलग–अलग तीन भिडियो सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको भिडियोमा ढकालले आफू रुस आएको एक महिना २० दिन मात्रै भएको बताएका छन् । ‘रेड जोनमा ५ जना नेपालीसहित २३ जनाको समूह थियो । मेरा धेरै साथीहरू मारिएका छन्,’ मंसिर १७ गते रेकर्ड गरिएको भनिएको भिडियोमा ढकालले भनेका छन्, ‘नमस्ते बुबाआमा... मलाई अहिलेसम्म राम्रो छ । पछि के हुन्छ थाहा छैन । नेपाल सरकारलाई जतिसक्दो चाँडो निकाल्नु भनेर यो खबर सुनाइदिनुहोला ।’

यसरी दुईदेशबीच बिना सम्झौता रुसी सेनामा भर्ती हुन गैहकानुनी हो । नेपाली युवालाई रुसी सेनामा भर्ती गराउन सक्रिय गिरोहका १२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट १२ जनालाई राहदानी, भिसा, रकमसमेतका कागजातसहित पक्राउ गरेको हो । तत्काल पीडित व्यक्तिहरू सम्पर्कमा नआएकाले निजहरूलाई अभद्र व्यवहारसम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।