प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हतियार माग्छ मकवानपुर प्रशासन, कति छ ? थाहा छैन

२०७९ आश्विन १४, शुक्रबार ०७:२७ बजे

हेटौंडा – जिल्ला प्रशासन कार्यालय(जि.प्र.का)मकवानपुरले हातहतियार बुझाउन आग्रह गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वस्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरु बुझाउन आग्रह गरेको हो ।

इजाजत प्राप्त हातहतियार आउँदो कार्तिक ५ गतेभित्र नजिकको प्रहरी एकाईमा लगत राख्ने गरी बुझाउन हतियार धनीलाई अनुरोध गर्न ७७ वटै जिल्लामा बिहिबार गृह मन्त्रालयले पत्र पठाएको थियो ।

शुक्रबार कार्यालयका प्रशाकीय अधिकृत गुणराज न्यौपानेले एक सुचना जारी गरी इजाजतपत्र प्राप्त हातहतियार कार्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाईमा बुझाउन आग्रह गरेका हुन् । सो हातहतियार निर्वाचन सम्पन्न भएको एकहप्ता पश्चात सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने सुचनामा उल्लेख छ ।

हतियार कति छ ? थाहा छैनः  मकवानपुर प्रशासन

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हातहतियार संकलन गर्न सुचना जारी गर्यो । तर, इजाजतपत्र प्राप्त हातहतियार कति छ ? भन्ने बारेमा जसले सुचना जारी गर्यो उसैलाई थाहा छैन ।

प्रहरखबर डटकमका प्रतिनिधिले इजाजत प्राप्त हातहतियारको बारेमा बुझ्न जि.प्र.का. मकवानपुरका प्रशासकीय अधिकृत न्यौपानलाई सम्पर्क गर्दा बास्तविक तथ्याङ्क आफुलाई जानकारी नभएको बताए । ‘हतियार संकलन गर्न हामीले भरर्खरै सुचना जारी गरेका छौँ, के–कति सङ्ख्यामा छन् हामी हेर्छौँ,’ उनले भने।