प्रहर खबर
 २०८१ बैशाख ७, शुक्रबार    

आज मकवानपुर सहित तीन जिल्लामा सार्वजनिक विदा, चेपाङ समुदायले न्वागी मनाउँदै

२०७९ भाद्र २२, बुधबार ०३:३५ बजे

हेटौंडा – लोपोन्मुख चेपाङ (प्रजा) समुदायले नयाँ वर्ष (न्वागी) मनाउँदै छन्। हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ। उनीहरूले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछन्।

यसवर्ष यो पर्प भदौ २२ गते आज मनाइँदै छ। चेपाङ समुदायको न्वागी (छोनाम)को अवसरमा बाग्मती प्रदेश सरकारले आज ९बुधबार० मकवानपुर सहित तीन जिल्लामा सार्वजनिक विदा दिएको छ ।

आज बुधबारको दिन (प्रजा) समुदायले नयाँ वर्ष (न्वागी) मनाउने भएकाले उनीहरुको मागलाई मध्यनजर गर्दै प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

चेपाङ समुदायले यस दिन पान्दे झाँक्री बोलाएर पूजा गरी कन्दमूल, फलफूल, तरकारी, घैया धानआदि खाने गर्दछन् । पितृहरूको सम्झनामा पूजा गर्दै देवीदेवतासँग रोगव्याधी नलागोस् भनेर आशीर्वाद लिने गर्दछन्। भाकल भए त्यसको पनि पूजा गर्दछन् ।

न्वागीलाई चेपाङ जातिले सबैभन्दा ठूलो पर्वका रुपमा मनाउँछन् । घैया धानलाई टाउकोमा राखेर आशिस लिने गरिन्छ। सोही दिन पुराना भाकाका गीत, झ्याउरे गीत गाएर नाचगान गरी रातभर रमाइलो गर्ने परम्परा छ।

पछिल्लो समय धेरै चेपाङले धर्म परिवर्तन गरेसँगै विगतको जस्तो पर्व रमाइलो हुन छाडेको गुनासो समेत छ । पछिल्लो समय चेपाङ समुदायका धेरै संख्यामा मासिन क्रिश्चियन बनेपछि भाषा, धर्म, संस्कृति जोगाउन मुस्किल भएको समुदायका अगुवा बताउँछन् ।

चेपाङ समुदायका अगुवाका अनुसार समुदायले भूयार र न्वागी गरी दुई वटा पर्वलाई राष्ट्रिय पर्वको रूपमा मनाउँदै आएका छन् । खेती लगाउने समयमा भूयार र खेती थन्काउने बेलामा न्वागी मनाउने गरिन्छ।

फागुन र चैतमा रोपेका बाली साउन/भदौमा तयार भएपछि चढाउने गरिन्छ। प्रकृतिलाई पूजा गर्दै नयाँ खेती भित्र्याउने गरिन्छ। मुख्यरूपमा यतिबेला पिँडालु, निबुवा, घिरौँला, कागुनो, तामा, घैया धान भित्र्याएर भगवानलाई चढाएर मात्र खान सुरु गरिन्छ ।

यो चेपाङ समुदायको ठूलो पर्व भएकोले घरघरमा हामी खुसीयाली साटासाट गरेर मनाइन्छ। कतिपयले यो पर्व समूहगत रूपमा पनि मनाउँछन् । चेपाङ समुदायलाई आफ्नो बारीमा उब्जनी भएको अन्नले छ महिना पनि खान पुग्दैन। जे जति उत्पादन हुन्छ, यसलाई निकै सम्मान दिएर पूजा गरेर मात्रै खाने चलन रहेको छ।

न्वागी पूजा नगरेसम्म अन्न जुठो हुने भएकोले चोख्याएर मात्रै खाने चलन छ । धर्म परिवर्तनका कारण पछिल्ला दिनमा पर्व मनाउनेको सङ्ख्या घटेको र धर्म र संस्कृतिलाई सबै मिलेर जोगाउनु पर्ने चपाङ समुदायका अगुवाहरु बताउँछन् ।

पहाडी क्षेत्रमा रहेका लोपोन्मुख यो जाति धेरैको आफ्नै जमिनसमेत छैन। वनमा फलेका कन्दमूल खाएर कतिपयले जीविका टार्नुपर्ने बाध्यता छ। शिक्षाको अभावमा बाल्यअवस्थामा नै विवाह हुने गरेकाले जन्मिएका बालबालिका र आमाको स्वास्थ्य अवस्था जटिल हुने गरेकाले यो जातिका लागि सरकारले प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग थियो।

नेपालका चितवन, मकवानपुर, धादिङ र गोरखामा यो जातिको बसोबास बढी छ। छिटफुट २४ जिल्लामा बसोवास रहेको चेपाङ जातीको जनसंख्या देशभर ७० हजार भन्दा बढी रहेको बताईएको छ ।

पछिल्लो जनगणनाको सङ्ख्या आइसकेको छैन। तीमध्ये मकवानपुरमा चेपाङ जातीको जनसंख्या ३० हजार भन्दा बढी रहेको अनुमान छ । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, भिमफेदी गाउँपालिकामा चेपाङ समुदायको बसोवास रहेको छ ।