प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

इरान भूकम्पमा पाँच जनाको मृत्यु

२०७९ असार १८, शनिबार ०९:०९ बजे

तेहरान – दक्षिणी इरानमा शनिबार भएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी पाँच जनाको मृत्यु भएको तथा ४९ जना घाइते भएका सरकारी टेलिभिजनले जनाएको छ ।

राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर दक्षिणमा रहेको होर्मोजगान प्रान्तको खोश गाउँलाई केन्द्रबिन्दु बनाएर भएको भूकम्प प्रभावित स्थलमा करिब तीनसयको बसोबास रहेको थियो । उक्त स्थलमा तत्काल उद्धार टोली परिचालन गरिएको छ ।

बिहानैको भूकम्पपछि पनि भूकम्पका पराकम्पन जारी रहेकाले भवन र पूर्वाधारमा क्षति पुगेको भन्दै सर्वसाधारण सडकमा निस्किएका थिए । भूकम्पको धक्का धेरै छिमेकी मुलुकमा पनि महसुस गरिएको थियो ।

इरान ठूला भूकम्पीय जोखिमको क्षेत्रमा रहेको छ । औसतमा यहाँ हरेक दिन भूकम्पको छट्का महसुस हुन्छ । सन् २००३ मा ६.६ म्याग्निच्युडको भूकम्पले ऐतिहासिक शहर बामलाई क्षतविक्षत पारेको थियो जहाँ २६ हजार सर्वसाधारणको ज्यान गएको थियो । सन् २०१७ मा सात म्याग्निच्युडको भूकम्पमा परी छ सयभन्दा बढीको मृत्यु भएको थियो भने नौ हजार जनाभन्दा बढी घाइते भएका थिए ।रासस / एपी