प्रहर खबर
 २०८० फाल्गुन १६, बुधबार    

हेटौंडामा औषधि उत्पादन गर्ने उद्योग नै दुर्गन्ध फैलाउँदै, प्रशासनको कानमा तेल

२०८० जेठ १५, सोमबार १४:१९ बजे

हेटौंडा – जसले फोहोरजन्य उत्पादन गर्छ, उसैले त्यसको ब्यवस्थापन गर्नुपर्छ । कसैलाई हानी नपुग्ने गरी। तर, हेटौंडाको एक औषधि उत्पादक उद्योगले केमिकल मिश्रित फोहोर जथाभाबी खोलामा फालेर दुर्गन्ध फैलाउने गरेको पाइएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं. ३ बसामाडीमा रहेको इभान लाइफ साइन्सेज प्रालिद्वारा सञ्चालित जडिवुटीजन्य औषधि उत्पादन गर्ने उद्योगले फोहोर पानी स्थानीयस्रोतमा मिसाएर गाउँँबस्तीलाई नै दुर्गन्धित बनाएको हो ।

 

हेटौंडा–३ स्थित इभान्स लाइफ साइन्सेज प्रालिद्वारा सञ्चालित उद्योग । 

पानीलाई दुषित बनाएर दुर्गन्ध फैलाउनु कानुनी अपराध हो । तर, कच्चापदार्थ प्रशोधन गरेर पुनः प्रयोग गर्न नमिल्ने कालो लेदो (डिस्पोजल) बस्तुलाई उद्योगले नजिकै रहेको डाङडुङे खोल्चामा मिसाएको छ । उद्योगले विगत तीन महिनादेखि बातावरणलाई नै दुर्गन्धित बनाउने गरी कालो लेदो खेतीपातीको लागि प्रयोग गर्दै आएको, स्थानीयको पशुबस्तुले खाने गरेको पानीको स्रोतमा मिसाएको स्थानीय सञ्जीव राईले जानकारी दिए ।

कम्पनीका प्रतिनिधिका अनुसार उद्योगसँग फोहोर शुद्धिकरण र व्यवस्थापन गर्ने उपकरण छैन । फोहोर ब्यवस्थापन गर्नकै लागि उद्योगले डाङडुङे खोल्चामा ढल जोडेको छ । उद्योगले रात परेपछि कालोलेदो फाल्ने गरेको पीडित स्थानीय दिलमाया राई बताउँछिन् । ‘त्यो समयमा सहन नसक्ने गरी गन्हाउछ, वाकवाक र वान्ता आउला जस्तै हुन्छ,’ उनले भनिन् ।

हेटौंडा–३ स्थित इभान्स लाइफ साइन्सेज प्रालिद्वारा सञ्चालित उद्योगबाट निस्किएको ढल खोल्चामा मिसिदै । 

त्यतिमात्र होइन्, खोल्चाको माछा, भ्यागुतालगायत जलचरलाई समेत असर पुगेको छ । ढल मिसाएको स्थान कुनै जलचर देखिंदैन । उद्योगका प्रतिनिधिलाई पटकपटक फोहोर जथाभावी नफाल्न आग्रह गरपनि नमानेको स्थानीयहरु बताउँछन् । ‘फोहोर फाल्ने काम यहाँ भनेर रोकिदैन, कहाँ निवेदन दिएर हुन्छ, रोक्नुुस्’ भन्दै उल्टै धम्किपूर्ण शब्द प्रयोग गरेको स्थानीयको गुनासो छ ।

उद्योगले अटेर गरेर प्राकृतिक स्रोत र मानवस्वास्थ्यमाथि खेलवार्ड गरेपनि स्थानीय प्रशासन भने मुख दर्शक बनेको छ । तत्काल अनुगमन गरेर कारवाही प्रक्रिया अगाडि बढाउनु पर्नेमा वडाकार्यालयले प्रक्रियालाई दोष दिदै उद्योगलाई अझै सात दिन फोहोर फाल्न अनुमति दिएको देखिन्छ ।

वडाध्यक्ष ढलकबहादुर थापा भन्छन्,‘हामीले छलफलको लागि ७ दिनभित्र वडामा उपस्थित हुन चिठ्ठी काटेका छौँ, अझै समय बाँकी छ, छलफलको लागि आउनु हुन्छ होला ।’ चिठ्ठी काटेपछि म्याद नसकिएसम्म केही कारवाही प्रक्रिया अगाडि बढाउन नसकिने उनको भनाइ छ ।

हेटौंडा–३ स्थित इभान्स लाइफ साइन्सेज प्रालिद्वारा सञ्चालित उद्योगको फोहोरका कारण डाङडुङे खोल्चाको दुषित पानी ।

वडा कार्यालयले पत्र काटेपछि पनि उद्योगले फोहोर फालेर दुर्गन्ध फैलाउने कार्य गरेको छ भने त्यो गलत भएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए । उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी प्राप्त भए तत्काल अनुगमन गरेर कारवाही प्रक्रिया अगाडि बढाउने आश्वासन दिए ।

इभान लाइफ साइन्सेजका विभागीय प्रमुख डा. दुर्गानाथ उपाध्यायले फोहोर खोल्चामा फाल्दा गाउँमा दुर्गन्ध फैलिएको स्वीकार गरे । फोहोर व्यवस्थापन गर्न मेसिन जडानको काम भइरहेको उनले बताए । उद्योग सञ्चालन गर्न वातावरण प्रभाव मुल्याङ्कन (इआईइ) को अनुमति समेत पाइएको उनको दाबी छ ।

उद्योगले विगत तीन महिनादेखि वातावरण र मानव स्वाथ्यमा गम्भीर असर पु¥याउँदा समेत स्थानीय सरकार र प्रशासन मौन हुनु, साथै बातावरण प्रदुषण गर्ने उद्योगको मापदण्ड नै नपुग्दा पनि इआईए प्रमाणित कसरी भयो ? यस विषयमा गम्भीर हुनु पर्ने देखिन्छ । यतिबेला विश्व वातावरण दिवस सप्ताहब्यापी रुपमा मनाउने तयारी नगरपालिकाले गरिरहेको छ ।