प्रहर खबर
 २०७९ भाद्र २, बिहीबार    

हेटौंडाको नगरसभा सुरु हुन सकेन

२०७९ असार १०, शुक्रबार १३:२० बजे

हेटौंडा – आज असार १० गते । संविधानतः ७५३ वटा स्थानीय तहहरुले नै असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ । सोही व्यवस्था बमोजिम आज स्थानीय सरकारहरुले बजेट ल्याउँदैछन् । तर, आज बिहान १० बजे हुने भनिएको हेटौंडा उपमहानगरपालिकाको नगरसभा तथा ११ औँ अधिवेशन अझै सुरु हुन सकेको छैन ।

नेकपा एमालेका कार्यपालिका सदस्यहरू नगरसभा हलभित्र उपस्थित नै भएपछि सभा सुरु हुन नसकेको हो । यसअघि कार्यपालिका बैठकमा आफुहरुसंग कुनैपनि छलफलनै नगरिकन एकलौटी ढंगले बजेट ल्याउन लागेकोमा असन्तुष्टि ब्यक्त गरेका थिए ।

हेटौंडा उपमहानगरको कार्यपालिकामा एमालेको स्प्रष्ट बहुमत रहेको छ । हेटौंडाका १९ वटै वडाहरुका नागरिकलाई संबोधन गर्नेगरी बजेट ल्याउनका लागि सबै कार्यपालिका सदस्यहरुका बिचमा छलफल गरेर मात्र मेयर मिना कुमारी लामा र उपमेयर राजेश बानियाँले बजेट ल्याउनुको सट्टा छलफलनै नगरिएको उनिहरुको आरोप छ ।

हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा नगरसभाका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि उपस्थित रहेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधि हलमा प्रवेश नगरी बाहिरै बसिरहेका छन् । आफ्ना माग पूरा नभएसम्मा सभा उपस्थित नहुने उनिहरुको भनाई छ । विवाद टुंगो लगाउन भन्दै जिल्लाका शीर्ष पार्टी नेताहरूबिच छ्लफल भइरहेको बुझिएको छ ।

यसअघि कार्यपालिकाको बैठकमा एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको थियो ।  एमालेले ल्याएको संशोधन प्रस्तावले आफ्नो अधिकार कटौती गरेको भन्दै मेयर लामासहित अरूले असहमति जनाएका थिए। गठबन्धनका जनप्रतिनिधिहरुले असहमति जनाएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बैठक नै बहिस्कार गरेका थिए ।

मेयर लामाले बहुमत सदस्य रहेको एमालेका जनप्रतिनिधि बिनानै आगामी आर्थिक २०७९/८० को नीति तथा कार्यक्रम बजेट कार्यपालिकाबाट पारित गर्ने निर्णय गरेकी थिइन्। नीति, कार्यक्रम तथा बजेट उपमहानगरपालिकाको विषयगत समितिहरुमार्फत आउनुपर्ने प्रक्रियाअनुरुप नल्याइएको एमाले जनप्रतिनिधिको आरोप छ ।

प्राप्त जानकारी अनुसार उपमहानगरको ५ वटा विषयगत समितिहरु गठन हुन सकेको छैन । मेयर र उपमेयरको संयोजकत्वमा रहने समितिले पनि पूर्णता पाउन समेत सकेको छैन । हेटौंडा उपमहानगर आगामी आर्थिक वर्ष २०७९/८० का लागि साढे २ अर्ब रुपैयाँ भन्दा बढीको बजेट प्रस्तुत गर्ने तयारीमा छ ।