प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

मकवानपुरगढीमा ढेड महिनामा पनि सकिएन कार्यकर्ता भर्ती

२०७९ भाद्र १३, सोमबार १५:१६ बजे

हेटौंडा – बैशाख ३१ गतेको स्थानीय निर्वाचनपछि मकवानपुरगढी गाउँपालिकाले नयाँ नेतृत्व पायो । असार ३१ गते १५ दिनभित्र नयाँ कर्मचारी व्यवस्थापन गर्ने भन्दै ८० जना करारका कर्मचारी निकाल्यो । १५ तीया ४५ दिन वित्दा पनि गाउँपालिकाले नयाँ कर्मचारी भर्ती गर्न सकेको छैन । जसको कारण गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधा प्रभावित भएका छन् ।

बालमैत्री स्थानीय तह समेत रहेको मकवानपुरगढी गाउँपालिका तथा मातहतका कार्यालयबाट प्रवाह हुने महिला तथा बालबालिका, न्यायिक, योजना, शिक्षा तथा खेलकुद, स्वास्थ्य लगायत अधिकांश सेवाहरु प्रभावित भएका छन् ।

गाउँपालिकाको न्यायिक समितिमा वकिल नहुँदा आफ्नो जग्गामा भएको विवाद अझै समाधान नभएको स्थानीय सन्दिप सापकोटा बताउँछन् । गाउँपालिकामा प्राविधिक नहुँदा नक्सा पास गरी गाईगोठको निर्माण समेत रोकिएको उनले गुनासो पोखे । 

उनले आफ्नो मात्रै नभई धेरै सेवाग्राही खाली हात फर्किनु परेको बताए । ‘गाउँपालिकामा केही काम हुदो रहेछ, तर अधुरा, पुरा काम चाहिँ कुनै हुदैन रेछ,’ उनले भने,‘मसंगै अरुपनि सेवाग्राही थिए, उनीहरुको पनि कामनै भएन ।’ गाउँपालिकामा प्राविधिक नहुँदा काम सम्पन्न भएका योजनाहरुको भुक्तानी समेत रोकिएको निर्माण व्यवासयीहरु बताउँछन् ।

निजी र पार्टीगत स्वार्थ
‘अघिल्लो नेतृत्वले नियुक्ति गरेका सबै करारका कर्मचारी एकैपटक निकाल्नु र तोकिएको समयमै नियुक्ति नगर्नु’ स्वार्थ लुकेको प्रष्ट हुन्छ । भनिन्छ “जनप्रतिनिधि जनताको सेवक” । तर, जनप्रतिनिधिकै निजी र पार्टीगत स्वार्थका कारण गाउँपालिकाका स्थानीयहरु सेवा सुविधाबाट बञ्चित हुनु परेको सेवाग्राहीको बुझाई छ । पाँच बर्ष कार्य अनुभव बटुलेका कर्मचारीलाई हटाउँदै आफ्नो आफन्त र कार्यकर्ता नियुक्ती गर्न लागेको एक नेताले बताए । केही कर्मचारीले आफुहरुलाई राजनीतिक प्रतिसोधकै कारण निकालिएको भन्दै अदालतमा उजुरी समेत दिएका छन् ।

जनताको सेवामुखी भन्दा जनप्रतिनिधि मुखी कर्मचारी भर्ती 
गाउँपालिकाले जनतालाई सेवा प्रवाह गर्ने उदेश्यले भन्दा बढी जनप्रनितिधि र कार्यालयमा काम गर्ने उच्च तहका कर्मचारीलाई सुविधामा प्रयोग हुने कर्मचारीको माग गरेको पाइएको छ । गाउँपालिकाले श्रावण ११ गते प्रकाशित गरेको सुचना अनुसार २४ जना कर्मचारी माग गरेको थियो । जसमा कार्यालयमा जनप्रतिनिधि र माथिल्लो तहका कर्मचारीको सेवा गर्ने कार्यालय सहयोगी मात्रै १३ जना माग गरिएको सुचनामा उल्लेख छ । छैटौं तहको इन्जिनियर एक जना, पाँचौ तह सब–इन्जिनियर ४ जना, बर्थिङ अनमी ३ जना, प्रशामक सेवा अनमी १ जना र ल्याब असिष्टेन्ट २ जना माग गरेको छ । उक्त माग गरिएको कर्मचारी एक महिना वित्दा समेत छनौट प्रक्रियामै अल्झिएको छ ।

पुर्वतयारीको अभाव, कर्मचारी नियुक्ति लथालिङ्ग
गाउँपालिकाले १५ दिनमा कर्मचारी व्यवस्थापन गर्ने भन्दै ८० जना कर्मचारी निकालेर २४ जना माग गरेको थियो । तर, कर्मचारी महिना दिन वित्दा समेत छनोट प्रक्रिया नै राम्रोसंग अगाडी बढाईएको छैन । अन्तरवार्ताको लागि गाउँपालिकाले कार्यालय सहयोगीको गरेपनि अन्य पदका नामवाली प्रकाशन गरेको छैन । १५ दिनमा कर्मचारी व्यवस्थापन गर्छु भनेर ढेड महिनासम्म व्यवस्थापन गर्न नसक्नु पुर्वतयारीकै अभाव प्रष्ट हुन्छ ।

खर्च घटाउन कर्मचारी कटौती
गाउँपालिकाले स्वास्थ्य, पशु, कृषि, महिला तथा बालबालिका लगायत क्षेत्रका कर्मचारी कटौती गरेको छ । गाउँपालिकाको व्ययभार कम गर्न कर्मचारी कटौती गरिएको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए । उनले भदौ अन्तिम सातासम्म कर्मचारी छनौट सम्पन्न हुने बताए । सेवाग्राहीको चाप र आवश्यकता अनुसार कर्मचारी थपिने उनको भनाई छ ।