प्रहर खबर
 २०७९ चैत्र १२, आईतबार    

किन ऐतिहासिक बन्यो रसुवागढी–ठोरी साईकलयात्रा ?

२०७८ चैत्र ७, सोमबार २१:४२ बजे

बढ्दो ईन्धन खपत घटाउन सांग्रिला डेभलपमेन्ट बैंकले केही दिन अघिमात्र कर्मचारीलाई कार्यालय आवतजावत गर्दा हिडेर वा साइलक प्रयोग गर्न उत्प्रेरित गरेको छ । इन्धन खपत कम गर्ने उद्देश्यका साथ बैंकले विज्ञप्ति प्रकाशित गरी समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही ईँटा थप्ने उद्देश्यले यो अभियान चलाएको बताएको छ ।

बैंकले इन्धन खपत घटाउने उद्देश्यले सकेसम्म चार पांग्रे सवारी साधन प्रयोग गर्दा एक्लै यात्रा नगरी अन्य कर्मचारीलाई समेत सोही साधनमा यात्रा गराउन कर्मचारीलाई उत्पे्ररित गरेको छ । सो सम्भव नभएको अवस्थामा सकेसम्म चार पांग्रे सवारी साधनको सट्टा दुई पांग्रे सवारी साधनको प्रयोग गर्न वा सार्वजनिक सवारी साधनको प्रयोग गरेर कार्यालय आवत जावत गरी इन्धन खपत घटाउने प्रयासमा योगदान दिन बैंकले आफ्ना कर्मचारीलाई आग्रह गरेको हो ।

देशमा इन्धनको खपत सक्दो कम गरी बातावरणलाई सफा स्वच्छ राख्नको लागि विभिन्न किसिमका कार्यक्रम तथा शिविरमार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘सेभ फ्यूल च्यालेन्ज’ भन्ने नाराका साथ सांग्रिला बैंक अगाडि बढेको छ । यसैगरी सबै वाणिज्य बैंकहरुले पनि आफ्नो कर्मचारीलाई साईकल चढ्न प्रेरित गर्ने हो भने मुलुकमा थोरै भएपनि परिबर्तन सुरु हुन्छ ।

एक महिना अघि मात्र संचालनमा आएको ठोरी जंगल सिोर्टले ५ वटा साईकल आफ्नो रिसोर्टका ग्राहकलाई उपलब्ध गराउने भएको छ । रिसोर्टमा आउने ग्राहकलाई साइकल चढेर ग्रामीण ईलाकामा भ्रमण गर्न रिसोर्टले साइकल राख्न लागेको रिसोर्टका संचालक धीरप्रताप घिमिरेले बताए । ठोरी पर्सा राष्ट्रिय निकुञ्जको बफरजोन एरिया हो र बफरजोन क्षेत्रको वातावरणप्रति रिसोर्ट संचालक सम्बेदनशील देखिन्छन् ।

माथिका उदाहरण त केवल नमूना मात्र हो । हामीले साईकल संस्कृतिलाई समाजमा पुनः स्थापित गर्न सकेको खण्डमा पेट्रोलियम पदार्थको खपत कम गर्नमा थोरै भएपनि योगदान पुग्ने थियो । पर्यावरण सन्तुलन राख्ने, आयात प्रतिस्थापन गर्ने, बैयक्तिक स्वास्थ्य संतुलित राख्ने काम साईकल संस्कृतिले गर्छ । युरोपियन मुलुकमा गाढी चढ्नेले पनि साइकल चढिरहेका हुन्छन् । अझ नेदरल्याण्डतिरका मन्त्री, प्रधानमन्त्री नै साईकलमा कार्यालय आउने–जाने गरिरहेका भेटिन्छन् ।

हामीकहाँ भने मन्त्री हुनेबित्तिकै कालो सिसा भएको महँगो गाढी चढ्नै पर्छ । साइकल चढ्नेलाई हेप्ने वा हेयको दृष्टिले हेर्ने प्रबृत्ति हामीकहाँ कायमै छ । घरमा खानेकुराको टुँगो नभएपनि घर अगाडि कम्तिमा २२० सीसीको बाईक चैं खडा गर्ने पर्छ । नत्र भने समाजले हेप्छन् भन्ने मान्यता छ । यस्ता आडम्बरी संस्कारलाई परिबर्तन गर्न पछिल्लो समयमा युवा जमातले साईकल संस्कृतिलाई बढावा दिन थालेका छन् ।

करिब १ महिना अघि मात्र मकवानपुरमा दर्ता भएको हिमालयन राइडर्स सोसाईटीमा आबद्ध साइकलप्रेमीहरु रसुवको सीमानाका रसुवागढीबाट पर्साको सीमानाका ठोरीसम्म साइकलयात्रामा निस्किएका थिए । यो अभियानमा बारा राईडर्स एसोसियसनले पनि साथ दिएको थियो । बाराका ३ जना र हेटौंडाका ७ जना गरी १० जनाको टोली २०७८ फागुन २८ गते रसुवागढीतर्फ गएको थियो ।

हिमालयन राईडर्सका अध्यक्ष चेतनाथ आचार्य, उपाध्यक्ष भानुभक्त आचार्य, सचिव राजु थापा मगर, कोषाध्यक्ष लक्ष्मीचरण श्रेष्ठ, सदस्य बुद्धराम श्रेष्ठ, बुद्धिबहादुर आले, शैलेश दुतराज र बारा राईडर्सका कोषाध्यक्ष रामेश्वर बास्कोटा, सदस्य रामहिर सुबेदी, हरेराम आचार्यले सफलतापूर्बक साइकलयात्रा सम्पन्न गरेका थिए । करिब ४५० किलोमिटरको यात्रा ४ दिनमा सम्पन्न गरेको टिमले ठोरीबाट सिमरासम्म थप साइकल यात्रा पनि गरे ।

भिजिट नेपाल–९८ (२०५४ साल) को सन्दर्भमा हेटौंडाबाट ११ जना साइकलयात्रीले मेचीनगरको काँकडभिट्टाबाट साइकलयात्रा सुरु गरेका थिए । हेटौंडासम्म आइपुग्दा २ जना साइकलयात्रीले यात्रा त्यागेर घर बसे । बाँकी ९ जनाले २० दिन लगाएर मेची–महाकाली यात्रा सम्पन्न गरेका थिए । त्यो टिममा सहभागीमध्य लक्ष्मीचरण श्रेष्ठ र भानुभक्त आचार्य दुईजनाले अहिले रसुवागढी–ठोरी साइकलयात्रा पनि पूरा गरेका छन् । यसकारण पनि यो यात्रा ऐतिहासिक बनेको छ ।

२०५४ मा चिनियाँ कम्पनी फोनेक्सले उत्पादन गरेको बिना गियरको साइकलमा यात्रा गरिएको थियो तर, अहिले रसुवागढी–ठोरी यात्रामा सबै गियर भएका अत्याधुनिक साइकल थियो । रसुवागढीबाट सुरु भएको पहिलोदिनको यात्रा नुवाकोटको बिदुरमा पुगेर बास बस्यो । दोस्रो दिनको यात्रा मध्यरातमा चितवनको कान्द्राङगढीमा पुगेर बास बस्यो । जुनेली रातमा मलेखु–कान्द्राङगढी–भण्डारा खडमा साइक्लिङ गर्ने साहस बटुलेका साइकलयात्रीले धेरै ठाउँमा बल्ढ्याङ खाएका थिए ।

तेस्रो बास चितवनको पटिहानीमा भयो र चौथो बास ठोरीमा । ठोरीमा बारा राइडर्सले खाने र बास बस्ने ब्यवस्थापन गरेको थियो । ठोरीबासीले साइकलयात्रीलाई स्वागत गरेका थिए । चितवनमा कामना सेवा विकास बैंकका प्रबन्धक सुरेन्द्र भण्डारी, चितवन साइकल संघका अध्यक्ष नबीन खरेलले स्वागत गरेका थिए । चितवनको माडीका साइकल साथीहरुले साइकलयात्रीलाई चिसो दही खुवाएर स्वागत गरेका थिए । नुवाकोट उवासंघका अध्यक्ष तारबहादुर कार्की, पूर्बअध्यक्षहरुलगायतले साइकलयात्रीलाई स्वागत गरेका थिए । बारा राइडर्सका अध्यक्ष शेषराज अधिकारी सहित ७ जनाको टिम साइकलयात्रीलाई स्वागत गर्न सिमराबाट ठोरी पुगेको थियो ।

यात्राअवधिभर सबै स्वस्थ्य रहेका थिए । साइकलयात्रीलाई देखेर बालबालिकादेखि जेष्ठ नागरिकसम्मले खुशी ब्यक्त गरेका थिए । कतिपयलाई यो कुनै राजनीतिक दलको कार्यक्रम हो कि ? भन्ने लागेको थियो । स्थानीय निकायको निर्वाचनको पूर्बसन्ध्यामा भएको साइकलयात्रालाई कतिपयले राजनीतिक दलको अभियान पो हो कि ? भन्ने अनुमान लगाइरहेका भेटिन्थ्यो । तर, हाम्रो साइकलयात्राको सन्देश भनेको स्वास्थ्य, पर्यटन, वातावरणसँग सम्बन्धित थियो ।