हेटौडा – मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्तीमा सवारी दुर्घटनामा परी दुई वर्षीय बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बहादुर थिङकी दुई वर्षीया छोरी पूजा थिङ रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार अपराह्न मनहरी बजारबाट नयाँबस्ती तर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङ्लिस बोर्डिङ स्कुलको ना १ क ९२५० नम्बरको बसले पूजालाई ठक्कर दिएको थियो।
बालिकालाई उपचारका लागि हेटौंडा अस्पताल पठाएको थियो। गम्भीर घाइते बालिकाको उपचारका क्रममा साँझ ५ः१० बजे अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
ठक्कर दिने बस र बसका चालक चन्द्र बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।