प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

भरतपुरको मेयरमा रेनु दाहाल दोस्रो पटक निर्वाचित

२०७९ जेठ १०, मंगलबार ०३:३० बजे

चितवन – भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवार रेनु दाहाल दोस्रो पटक निर्वाचित भएकी छन् । उनी एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराउँदै भरतपुरको प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

रेनु १२ हजार ४ सय ४९ मतान्तरले विजयी भएकी हुन् ।उनले ५२ हजार ३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याए । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याएका छन् ।

उमपेयरमा पनि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भए । उनले ५२ हजार ८ सय ३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ३० हजार ६ सय १२ मत ल्याइन् ।

को हुन् रेनु ?

२०७४ सालको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुखमा विजयी रेनु दाहाल यस पटक पनि यही महानगरपालिकामा प्रमुखको उम्मेदवार बनेकी छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डु को पुत्रीको रुपमा परिचित रेनुले भरतपुर महानगरको प्रमुखमा निर्वाचित भएपछि आफ्नो राजनीतिक यात्रालाई थप उचाइमा पुर्याइन् ।

हाल नेकपा माओवादी केन्द्रको चितवन जिल्ला इञ्चार्ज समेत रहेकी रेनु माओवादी सशत्र द्वन्द्वको समयमा भूमिगत रुपमा आफ्ना पिता प्रचण्ड र माता सीता दाहालसँंगै पार्टीको विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक यात्रालाई अघि बढाएकी राजनीतिक कार्यकर्ता हुन् ।

भूमिगत कालमा रेनुको नाम ज्वाला थियो । २०५३ सालबाट माओवादीको पूर्णकालीन सदस्य बनेकी रेनु २०५६ सालमा पार्टीको जिल्ला समिति सदस्य हुँदै रोल्पाको सहइञ्चार्ज र पछि काठमाडौ जिल्लाको सहसचिव पनि भइन् ।