काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार मौसममा तुलनात्मक रूपमा सुधार आएको छ।
बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागको मौसम बदली रही बाँकी भूभागको मौसम सामान्तया सफा रहेको छ।
पश्चिमी र स्थानीय वायुको प्रभावले दिउँसो कोशी, बागमती र गणडकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ। काठमाडौं उपत्यकामा पनि दिउँसो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणाली पूर्वतिर सर्दै गरेकाले बागमती, गण्डकी र कोशी प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना देखिएको मौसमविद्को भनाइ छ।
त्यस्तै कोशी र मधेश प्रदेशका तराईका भूभागहरूमा हावाहुरीको पनि सम्भावना छ।राती पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएको छ ।