प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

कांग्रेस नेता गिरि भेन्टिलेटरमा

२०७९ भाद्र ३, शुक्रबार १६:५४ बजे

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। झण्डै एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिको स्वास्थ्यमा सुधार नआएपछि आईसीयूबाट बिहीबार भेन्टिलेटरमा सारिएको हो ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर फर्कंदै गर्दा न्युमोनिया देखिएपछि गिरि मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अहिले उनको स्वास्थ्य निरन्तर बिग्रिएर जटिल अवस्थामा पुगेको छ ।अहिले गिरिको क्यान्सर पनि अन्यत्र सरेको पारिवारिक स्रोतले जनाएको छ । घाँटीको क्यान्सर देखिएपछि गिरिको सुरुमा नयाँ दिल्लीमा उपचार भएको थियो ।

कांग्रेसका नेताहरू र गिरिका शुभचिन्तकहरु उनलाई भेट्न अस्पताल गइरहेका छन्।गिरिलाई भेटेर फर्किएका कांग्रेस नेता बिमलेन्द्र निधिले ट्वीट गरेका छन्, ‘स्तब्ध र निरिह छु । ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्दैछु, सबैले प्रार्थना गरौं ।’