काठमाडौं – केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले कीर्तिमानी जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो ।
निर्धारित २० ओभरको खेलमा केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्यो । यो नेपालले टी–ट्वान्टी अन्तराष्ट्रियमा पूरा गरेको यो सर्वाधिक ठूलो योगफल हो ।
यसअघि नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल १ सय ५२ रन थियो । नेपालले सन् २०१९ मा सिंगापुरविरुद्ध उक्त जित निकालेको थियो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए भने डेब्यु खेलमै अर्जुन साउदले ३५ रन बनाए । । यस्तै रोहित पौडेल २९ रन, पवन सर्राफले २० रन, आदील अन्सारीले १६ रन जोड्मादा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । आरिफ शेख ४ रनमा अविजित रहदा करण केसी सुन्य रनमा अविजित रहे ।
केन्याका भिराज पटेल र युगिनी ओचिङले २/२, इमान्युएल बुन्डी र कोलिन्स ओबुयाले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले । पटेलले अविजित रहदै ७३ रन बनाउँदा करिम पनि ५५ रनमा अविजित रहे ।
कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदिप सिंहले ८ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १/१ विकेट लिए । खेलको म्यान अफ द म्याच पूर्वकप्ता ज्ञानेन्द्र मल्ल भए।
पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ ।यस अघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।
अब नेपाल र केन्याबीच चौंथो टी–ट्वान्टी खेल भोलि सोमबार र पाँचौ तथा अन्तिम टी–ट्वान्टी मंगलबार हुनेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।