प्रहर खबर
 २०८१ चैत्र २, शनिबार    

मकवानपुरका आले ९ बर्षपछि पक्राउ

२०८१ बैशाख २४, सोमबार २०:३७ बजे

हेटौंडा – कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । वि.सं. २०६१ कात्तिक २९ गते कुटपिट मकवानपुरको साविक मार्खु गाबिस–४ बस्ने पूर्ण बहादुर बिष्टको हत्या गरेको अभियोगमा मकवानपुरकै साविक चित्लाङ गाबिस–३ सिरूपाटा ठेगाना भएका ४७ वर्षीय शंकर आलेलाई आइतबार प्रहरीले नवलपरासीबाट पक्राउ गरेको छ ।

तत्काल नेपाली सेनाको श्री नं. ७ बाहिनीस्थित अड्डा चनवन मकवानपुरमा कार्यरत आले समेतका व्यक्तिहरूले बिष्टलाई व्यक्तिगत रिसिइवीका कारण कुटपिट गरेको गरेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिट भएको भोलिपल्ट मकवानपुरको मार्खु र चित्लाङ भन्ने स्थानको दोसाधमा पर्ने काल्सिङ् खोलामा बिष्टको शव फेला परेको थियो ।

जिल्ला अदालत मकवानपुरको २०७२ वैशाख २३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा शंकरलाई साविक मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) बमोजिम जन्मकैद हुने ठहर गरेको थियो । त्यसपछि फरार रहेका आलेलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले करिब ९ बर्षपछि नवलपरासी देवचुली नगरपालिका–३ प्रगतिनगरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको प्रहरीले जनाएको छ ।