प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

विवाह गर्दै पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा

२०८० मंसिर १४, बिहीबार ०७:५२ बजे

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहिया विवाहबन्धनमा बाँधिने भएका छन् । राजधानीको एक होटलमा यही मंसिर २८ गते लगनगाँठो कस्ने तय भएको  सञ्चारमाध्यमा समाचार छ । 

अहिले दुवै जनाको परिवार विवाहको तयारीमा व्यस्त रहेको जनाइएको छ । हार्वर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन पढेर नेपाल फर्किएकी श्रृंखला र सम्भवबीचको प्रेम सम्बन्धको बारेमा चर्चा चुलिएको थियो । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले असोज २८ गते यसलाई सार्वजनिक रुपमा स्वीकारेका थिए ।

श्रृंखला सन् २०१८ की मिस नेपाल विजेता हुन् । विश्व सुन्दरी प्रतियोगितामा श्रृंखला अन्तिम १२ मा प्रवेश गरेकी थिइन् । उनले त्यसबेला मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस पनि जितेकी थिइन् । 

नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी श्रृंखला पेशाले इन्जिनियर हुन् । हेटौंडा घर भएकी उनले २८ बर्ष पार गरिन् । उनको जन्म २०५२ साल कार्तिक १७ गते ठुलो एकादशीको दिन हेटौंडा अस्पतामा भएको थियो ।