काठमाडौं – सरकारले पेट्रोलिय पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बढेको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल नियमलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार निगमलाई गएराति बढाएको मूल्य फिर्ता लिएर पूरानै कायम राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । निगमले केही बेरमा विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिने उनले बताइन् ।
नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर (करिब ८ रुपैयाँ) बढाएको थियो । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढाउने निर्णय भएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।