प्रहर खबर
 २०८२ आषाढ २८, शनिवार    

कृष्ण सेन ईच्छुकको २२ औं स्मृति दिवस: अन्तरक्रिया तथा पत्रकारहरुलाई सम्मान र पुरस्कार

२०८१ जेठ १३, आईतबार १९:०४ बजे

हेटौंडा – महान् सहिद कृष्ण सेन ईच्छुकको २२ औं स्मृति दिवसको अवसरमा आईतबार हेटौंडामा अन्तरक्रिया तथा पत्रकारहरुलाई सम्मान र पुरस्कार समर्पण गरिएको छ । प्रेस सेन्टर नेपाल मकवानपुरद्वारा आयोजित कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्य तथा प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अन्जली थापाको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले पत्रकारहरुमा आलोचनात्मक चेत हुनुपर्ने भन्दै खबरदारी र सचेत गराउँनुपर्नेमा जोड दिए । संचार क्षेत्र सम्बन्धि नीति, कानून, नियमावली र नियम प्रदेश सरकारले बनाएको भन्दै कार्यान्वयनमा देखिएका समस्या समाधान गर्दै कार्यान्वयन गरिने बताए।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकस मन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष एवं केन्द्रीय ईन्चार्ज महेश्वर दाहालको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा अग्रज पत्रकारहरु महेन्द्र श्रेष्ठ, सम्झना कार्की, राममणि दाहाल, रामकुमार एलन, भानुभक्त आचार्य, कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ, कलमचन्द्र सुमन र मोहनमान साँगामीलाई माला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा रुद्रसेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रताप बिष्टलाई, रुद्रसेन स्मृति पत्रकारिता पुरस्कार नवराज शर्मा तिमल्सिनालाई र कौशल पाण्डे जनपक्षीय राष्ट्रिय पत्रकारिता पुरस्कार महेश्वर दाहाललाई प्रदान गरिएको थियो । साथै, क्रियाशील पत्रकारिता पुरस्कारबाट राजन दाहाल, एमपी शर्मा, सुबाश बिडारी, सरला अधिकारी, बालकृष्ण दाहाल र प्रतिक्षा न्यौपानेलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै, ग्रामिण पत्रकारिता पुरस्कार शिवकुमार काशी, उमेश राई, शम्भु अधिकारी र विवेक सिन्तानलाई प्रदान गरिएको थियो । सुत्केरी प्रोत्साहन बापत जनही नगद पाँच हजार रुपैयाँ पत्रकारहरु रञ्जिता डंगोल, रुपा गुरुङ र मनिता दानीलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज बिजय गौतम, बागमती प्रदेश सचिवालय सदस्य एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बागमती प्रदेशका सञ्चार रजिस्टार रेवती सापकोटाले मन्तव्य ब्यक्त गरे ।

साथै, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवं बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सुनिल खड्का, बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महसंघ मकवानपुरका उपाध्यक्ष ध्रुब अधिकारी, समाजवादी प्रेस संगठनका महासचिव रामकुमार एलन, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबाश बिडारी लगायतले मन्तव्य ब्यक्त गरे ।