प्रहर खबर
 २०७९ असार १२, आईतबार    

हेटौंडा बजारमा अचम्मको ‘ब्रेड’, प्याकेटमा एक महिना अगाडीको ‘डेट’

२०७९ असार ८, बुधबार १९:२२ बजे

हेटौंडा – उपभोग्य बस्तुको म्याद नाघेको नेपाली बजारमा पाइनु कुनै नौलो कुरा होइन । त्यो नेपाली बजारको खास बिशेषता र पहिचान हो । तर, अहिले बजारमा उत्पादन हुनु भन्दा एक महिना अगाडि नै बस्तु बिक्रीको लागि राखिएको पाइएको छ ।

मकवानपुरको एक पसलमा ब्यापारीले बेच्न ल्याएको न्यु यासमिन बेकरी उद्योगले उत्पादन गरेको पाउरोटी (ब्रेड) को उत्पादन हुनु भन्दा एक महिना अगाडि नै बजारमा बस्तु बिक्रीको लागि ल्याइएको पाइएको हो । यो समाचार तयार पार्दाको मिति सन् २०२२ जुन २२ तारिख तर, उक्त पाउरोटीको उत्पादन मिति भने झण्डै एक महिना अघि अर्थात जुलाई २० तारिक लेखिएको छ ।

हेटौंडा उपमहागरपालिका वडा नं.८ कमानेमा रहेको सो उद्योगले केही दिनदेखि निरन्तर रुपमा उत्पादन मिति भन्दा एक महिना अगाबैको उत्पादन बजारमा विक्री गर्दै आएको पाइएको उपभोक्ता सन्तोष न्यौपानेले बताए । ‘पाउरोटीको डेट हेर्छु, एकमहिना अगाडिको छ, म अचम्मा परें,’ उनले भने, ‘यसरी उपभोक्ताको स्वास्थ्यमा खेलवार्ड गर्न पाइदैन, यसमा सम्बन्धित निकायको ध्यान जाओस् ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौडाका प्रमुख क्षितिज श्रेष्ठले तत्काल अनुसन्धानको लागि टोली परिचालन गर्ने बताए । उनले अनुसन्धानको क्रममा प्रमाण पुगेको खण्डमा प्रचलिन ऐन नियम अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने बताए । एक महिना अघिको मिति राखेर बजारमा ल्याइएको पाउरोटी उपभोक्ताले सहजै उपभोग गरिरहेका छन् ।