प्रहर खबर
 २०८१ जेठ ६, आईतबार    

दर्खास्त भर्दाभर्दै हजुरआमाको मृत्युको खबर, अधुरै रह्यो रुपाको जागिर खाने रहर

२०८० मंसिर १५, शुक्रबार ०७:४९ बजे

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं।२ कुर्लेपाखा बस्ने राम बहादुर स्याङ्तान परिवारका चार जना सदस्यले एकैदिन ज्यान गुमाउँद गाउँनै शोकमा डुबेको छ । जसमा तीन जनाको दुर्घटनामा र एकजनाको कालगतिले मृत्यु भएको हो ।

बिहीबार दिउँसो मकवानपुरगढी–२ स्थित धवाडी खोला पुलनजिकै प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा राम बहादुरका छोरा ३५ बर्षीय भिम बहादुर स्याङ्तान, उनको बुहारी ३४ बर्षीया रुपा स्याङ्तान र उनको नातिनी ५ महिने छोरी मृत्यु भएको हो । त्यस्तै ८८ बर्षीया आमाको कालगतिले मृत्यु भएको हो ।

राम बहादुरको चार जना सदस्यले ज्यान गुमाउँदा गाउँनै शोकमा डुबेको वडासदस्य राम चौरेलले जानकारी दिए । “हजुरआमाको घरमा मृत्यु भएको छ, शव घाटमा लगेकै छैन, उता हेटौंडा अस्पतालमा छोराबुहारी र नातिनीको शव छ,” उनले भने, “यो घटनाले गाउँ पुरै शोकमा छ ।”

अधुरै रह्यो रुपाको जागिर खाने रहर
कक्षा १२ पास गरेकी रुपा स्याङ्तानालाई राम्रो जागिर खाने रहर थियो । पढ्दा पढ्दै भिमसंग लगन गाँठो गासेपछि सन्तान जन्मियो । रुपा आफ्नो सन्तान हुकाईबढाई लागिन् ।

बिवाह बन्धनमा बाँधिएको करिब डेढ दशक अवधिमा तीन सन्तान जन्माइन् । पहिलो र दोस्रो सन्तान दुई छोरा हुर्किसकेका छन् भने तेस्रो सन्तानको रुपमा छोरी हुकिदै थिइन् । उनी छोरीको भातखुवाई(पास्नी)पछि जागिर खाने सोच बनाएकी थिइन् ।

सोही वडाको छापस्थित कालिदेवी प्रा.बि.मा राहात कोटा शिक्षक माग गरेको सुचना पाइन् । बिहीबार बिहान १० बजे कागजपत्र सहित श्रीमानको साथमा आफ्नो ५ महिने छोरी च्यापेर त्यसतर्फ लागिन् ।

श्री कालिदेवी प्रा.बि.मा दखास्त भर्दाभर्दै घरबाट “घरमा हजुरआमाको बित्नुभयो” भनेर फोन आउँछ । उनीहरु काम सकेर हतारहतार मोटरसाइकलमा घर फर्किदै थिए । धवाडी खोला पुलनजिकै मोडमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुन्छ ।

जुनबाटो जागिर खाने सपना बुन्दै जान्छिन् रुपामा फर्किने क्रममा त्यही बाटोमै अस्ताउँछिन् । उनको जिनवसंगै जागिर खाने सपनामा मोटरसाइकलको लुकिङ् ग्ल्यास चक्नाचुर भए झै सदाको लागि अन्त्य हुन्छ ।

जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार करिब १२ मिटर तल ढुङ्गामा बजारिदा रुपा र उनको ५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै मोटरसाइकल चालक भिम बहादुरको थप उपचारका लागि हेटौंडाबाट भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए ।
उनीहरुको तीनै जनाको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।

शव पोष्टमाटपछि आफन्तलाई जिम्मा लगाईने प्रहरीले जनाएको छ । मृतक स्याङ्तान दम्पतीका १४ बर्ष र ९ बर्षका दुई छन् । जेठा छोरा कक्षा ९ र कान्छो छोरा कक्षा ३ मा पढ्छन् ।