प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

हेटौंडामा लामखुट्टे नष्ट गर्न ‘स्प्रे’

२०७९ श्रावण १९, बिहीबार २१:३८ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेङ्गो रोग संक्रमण बढेपछि लामखुट्टे नष्ट गर्नको लागि स्प्रे गर्न थालिएको छ । उपमहानगरको ४ र ५ नम्बर वडा क्षेत्रमा रहेका बासिन्दामा डेङ्गुको संक्रमण बढ्दै गएपछि उपमहानगरले स्प्रे गर्न थालिएको हो ।

संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जिवाणु नष्ट गर्ने गरी “डाइथाल कार्वसेट” पानीमा मिसाएर छिट्न थालिएको हेटौंडा उपमहानगरपालिकाका आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्थ अधिकृत भोला चौलागाईले बताए । संक्रमणलाई फैलन नदिनका लागि जनस्तरमा मट्टीतेलको प्रयोग गरी लार्भा नष्ट गर्न सचेतना सँगै बढि जोखिम रहेको क्षेत्रमा उपमहानगरपालिकाले स्प्रे गर्न थालेको उनले जानकारी गराए । अहिले हेटौंडा ४ को कमलडाँडा क्षेत्र र मेनरोडमा स्प्रे गर्ने कार्य नगरप्रहरीको मद्दतबाट भैरहेको बताए ।

संक्रमण फैलिएका वडाको जोखिम पुर्ण क्षेत्रको पहिचान गरी आवश्यकता अनुसार संक्रमण नियन्त्रणको अभियान सञ्चालन गरीने चौलागाइले बताए । कोरोना संक्रमणका बिरामीको दर बढ्दै गएसँगै नगरमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका बिरामीको संख्या पनि बढ्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।असारको अन्तिमबाट सुरु भएको संक्रमणको दर बिस्तारै बढ्दै गएको र अहिले सम्म ४३ जनामा संक्रमण देखिएको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

जिल्लाको १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रमा पर्ने ४ र ५ मा बढी मात्रामा बिरामीहरु देखिएको कार्यालयले जनाएको छ । अन्य स्थानीय तहमा केही संख्यामा डेङ्गु संक्रमित देखिए पनि नगर भित्रै देखिनुले समस्या भएको कार्यालयलले जनाएको छ । बिस्तारै बिरामिको संख्या बढ्दै जानुले सर्तकता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताइएको छ । संक्रमितहरुको हेटौँडा अस्पतालमा उपचार भैरहेको कार्यालयले जनाएको छ ।