प्रहर खबर
 २०८० जेठ १८, बिहीबार    

संगीतमा झुमाउन नेपथ्य ब्याण्ड हेटौंडा आइपुग्यो

२०७९ मंसिर २०, मंगलबार १७:२८ बजे

हेटौंडा – विराटनगरबाट ‘मानवताको लागि संगीत’ अभियान आरम्भ गरेका लोकरक नेपथ्य ब्याण्ड बागमती प्रदेशको राजधानी हेटौंडा आइपुगेको छ । नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरूङसहितको टोली विराटनगरबाट वीरगञ्ज हुँदै मंगलबार हेटौंडा आइपुगेका हुन् ।

नेपथ्यको ‘मानवताको लागि संगीत’ अभियान १६ मंसिर शुक्रबार विराटनगरको हाटखोला मैदानबाट सुरु भएको थियो । सोमबार पर्साको वीरगञ्ज उपमहानगरपालिकाको आदर्शनगनर रंगशालामा सांगीतिक प्रस्तुती दिएको थियो ।

वीरगन्जको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुइवटा बस मार्फत् मंगलबार हेटौंडा आइपुगेका हुन् । मानवसेवा आश्रमकै आयोजनामा हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी स्कुल मैदानमा नेपथ्य ब्याण्डले मंसिर २२ गते बिहीबार प्रस्तुत दिनेछन् ।

नेपथ्यका अमृत गुरुङले आफ्नो फेसबुकमा कार्यक्रम स्थलको तस्वीर सार्वजनिक गर्दै लेखेका छन्– हामी हेटौंडा आइपुग्यौं। स्टेज निर्माण कार्य शुरु भइसक्यो। उनले टिकट काटेर सांगीतिक प्रस्तुतमा झुम्न आउँन आग्रह समेत गरेका छन् ।

ब्याण्डका भोकलिस्ट अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् । नेपथ्य ब्याण्डको ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’, ‘चरि मर्यो’, ‘जोमसोमे बजारमा’, ‘शिरफूल’ लगायत दुई दर्जन गीत दर्शक माझमा लोकप्रिय छन् । 

सांगीतिक कार्यक्रम साँझ ४ बजेदेखि ८ बजेसम्म हुनेछ । लाइभ कन्सर्टमा ४० लाख रुपैयाँ खर्च हुनेछ भने २ करोड रुपैयाँ बचत गर्ने लक्ष्य रहेको आश्रमले जनाएको छ । अहिले कार्यक्रम सञ्चालनका लागि स्टेज निर्माणको काम धमाधम भइरहेको छ ।

२५ मंसिरमा नारायणघाटको ‘क्याम्पाचौर’, मंसिर २९ गते  नेपालगन्ज, ३ गते धनगढी रंगशाला, पुस ६ गते वीरेन्द्रनगर सुर्खेतको खुलामञ्च, पुस ९ गते बुटवलको ‘रामनगर खेलमैदान’, पुस १२ गते पोखरा नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा कार्यक्रम हुनेछ। अङ्ग्रेजी नयाँ बर्ष अर्थात पुस १६ गते संघीय राजधानी काठमाडौं मण्डपमा प्रस्तुतीपछि एक महिने सांगीतिक यात्रा समापन हुनेछ ।