प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

मकवानपुरमा दिन प्रतिदिन बढ्दै डेगुं, कुन पालिकामा कति ?

२०७९ आश्विन ६, बिहीबार १७:४४ बजे

हेटौंडा – मकवानपुरमा डेगुंका बिरामी दिन प्रतिदिन बढ्दै गएको छ । जिल्लामा आज९बुधबार० एकैदिन १ सय ३१ जना डेगुंका बिरामी फेला परेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा डेगुं सङ्क्रमण हुने सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका ८० जना रहेका छन् । त्यस्तै मनहरी गाउँपालिकाका ४० जना, बकैया गाउँपालिकाका ४ जना र ठेगाना खुलेका ४ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अुनसार जिल्लामा हालसम्म २१ सय ८ जना डेगुंका बिरामी भेटिएको छन् । जसमा पुरुष १२ सय ३ र महिला ९ सय ५ जना रहेका छन् । जिल्लामा हालसम्म डेगुंका कारण एक जनाको ज्यान गएको छ ।

९ वटै पालिकामा डेगुं
जिल्लाको १० पालिका मध्ये ९ पालिकामा डेगुंका विरामी भेटिएका छन् । जसमा सबैभन्दा बढी हेटौंडा उपमहानगरमा रहेका छन् । स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्क अनुसार हेटौंडामा १९ सय ३२ जना, मनहरीमा ६७, मकवानपुरगढी र थाहा नगरमा ३७/३७ रहेका छन् ।

त्यस्तै भिमफेदीमा १४, बकैयामा १२, बागमतीमा ३, कैलाश र राक्सिराङमा १/१ जना संक्रमित छन् भने ४ जनाको ठेगाना खुलेको छैन ।इन्द्रसरोबरमा डेगुंका एक पनि बिरामी भेटिएका छैन् ।