काठमाडौं – माल्दिभ्सलाई हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा नेपालले २ गोल पहिलो हाफमै गरेको थियो । खेलको दोस्रो हाफमा नेपालले २ गोल थपेको थियो भने माल्दिभ्सले १ गोल फर्काएको थियो ।
खेलको १७ औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । समिर तामाङले ३० औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाएका थिए ।
खेलको पहिलो हाफमै दुबै टोली १०—१० खेलाडीमा समेटिएका थिए । निर्धारित समयको ३४औँ मिनेटमा नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहम्मद ईयान हसन रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
दोस्रो हाफमा ५८ औं मिनेटमा लायन रसिदले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए । त्यसपछि निर्धारित समयको खेल सकिनुभन्दा दुई मिनेटअघि निराजन धामीले नेपालका लागि तेस्रो गोल गरेका थिए । त्यसलगत्तै दोस्रो हाफको इन्जुरी समयमा समिर तामाङले ब्यक्तिगत रुपमा दोस्रो गोल गर्दै नेपाललाई सजिलो जित दिलाएका थिए ।
समूह ‘ए’ बाट पाकिस्तान ४ अंकसहित समुह विजेता र नेपाल ३ अंकसहित समुह उपविजेता रहदै सेमिफाइनलमा छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्सलाई हराउनै पर्ने दबाब थियो । बराबरीको नतिजाले मात्र माल्दिभ्स अन्तिम चारमा पुग्न सक्थयो ।समूहगत चरणको अन्तिम खेलमा नेपालसँग पराजित भएपछि माल्दिभ्स भने उपाधि होडबाट बाहिरिएको छ ।
नेपालले फाइनलमा प्रवेशका लागि अब भारत वा भुटानसँग खेल्नेछ । समूह बीको विजेता टुङ्गो लगाउन सोमबार साँझनै भारत र भुटानबीच प्रतिस्पर्धा हुदैछ ।