हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नंं.९ स्थित भलाद्मीचोकमा ५ जना युवा सम्मिलित विजुली ग्रुपले सुविधा सम्पन्न चार्जिङ्ग स्टेशन सञ्चालनमा ल्याएका छन् । विजुली स्टेशन एण्ड मान्द्रो हाईवे होटल नाम खडा गरी युवाहरुले असोज १७ गतेदेखि सञ्चालनमा ल्याएका हुन् ।
पूर्वपश्चिम राजमार्गमा गुड्ने विद्युतीय सवारी साधनहरुलाई लक्षित गरी ८०, ६० र ४० किलोवाटको तीन चार्जिङ्ग मेशिनबाट एकैपटक ५ वटा विद्युतीय गाडी चार्ज गर्न मिल्ने हाईटेक सवारी चार्जिङ्ग स्टेशन सञ्चालनमा ल्याईएको सञ्चालक गगन ढुङ्गेलले जानकारी दिए । उनका अनुसार यहाँ साना–ठूला सबै सवारीसाधनको चार्ज गर्न मिल्छ ।
सवारीहरुको चाप बढेमा चार्जिङ्ग मेशिन थप्ने योजना रहेको सञ्चालक ढुङ्गेलले बताए । उनका अनुसार नेपालमा उपलब्ध रहेका सवारीसाधनको क्षमताअनुसार एकदेखि डेढ घण्टासम्ममा चार्ज पूर्ण हुन्छ भने २४ सै घण्टा खुल्ला रहने छ ।
आन्तरिकरूपमा खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकास सहयोग पुर्याउन चार्जिङ स्टेशन सञ्चालनमा ल्याईएको अर्का सञ्चालक मनिश अधिकारीले बताए ।
चार्जिङ स्टेशनमा पेट्रोलपम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु पर्दैन । चार्जिङ स्टेशनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारीधनीले कार्ड स्वाइप गरेर चार्ज गर्न सकिनेछ ।
कति मिनेटसम्म वा कति रुपैयाँसम्मको चार्ज गर्ने हो त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ । समय वा पैसा बराबरको चार्जिङ पूरा भएपछि उक्त गाडी थप चार्ज हुँदैन । उनले धेरैलाई चार्जिङ स्टेशनका बारेमा जानकारी नभएको भन्दै क्रमशः सवारीसाधनको चाप बढ्दै जाने सञ्चालकहरुले विश्वास लिएका छन् ।
नेपालभर राजमार्गमा यस्तै सुविधा सम्पन्न चार्जिङ्ग स्टेशन स्थापना गर्ने योजना गर्ने विजुली स्टेशन कम्पनीको योजना छ । त्यस्तै सवारी चार्ज गर्ने समयमा यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै रेष्टुरेन्ट समेत सञ्चालन गरिएको म्यानेजर सरोज पुरीले बताए । रेष्टुरेन्टमा अर्डर अनुसारका सबै खानेकुरा परिकार बनाएर एकैपटक ६० जनालाई सेवा प्रदान गर्न सकिने पुरीले बताए ।