प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

उडिरहेको जहाजमै पाइलटबीच कुटाकुट

२०७९ भाद्र १३, सोमबार १७:३९ बजे

एयर फ्रान्सका दुईजना पाइलटबीच प्लेनको ककपिटभित्र नै कुटाकुट भएको छ । यो घटना जेनेभादेखि फ्रान्ससम्मको उडानको क्रममा भएको भएको हो ।

कम्पनीले घटनामा संलग्न दुई जनालाई निलम्बितसमेत गरेको छ । यसका बाबजुद विमानले सामान्य रूपमा आफ्नो गन्तव्यमा पुगेको थियो । विवादले उडानमा भने कुनै समस्या नआएको एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । उनले आफ्नो एयरलाइन्स यात्रुको सुरक्षाका लागि प्रतिबद्ध रहेको कुरा दोहोर्‍याए ।

स्वीस ला ट्रिब्युन डेलीको समाचार अनुसार पाइलट र कोपाइलटबीच विमान उडान भर्ने बित्तिकै विवाद सुरु भएको थियो । यस क्रममा उनीहरूले एकअर्काको सर्टको कलर समात्नेदेखि मुक्का समेत बर्साएका थिए ।

विवादपछि क्याबिन क्रूको सदस्यले उनीहरूलाई छुट्टाएका थिए । र, उडान अवधिभर उनी ककपिटमा नै बसेका थिए । बुधबार फ्रान्सको एयर इन्भेस्टिगेसन एजेन्सी ९बीईए० ले रिपोर्ट प्रकाशन गरेपछि यसबारे जानकारी बाहिर आएको हो ।

यसअघि भारतको लखनउस्थित अमौसी एयरपोर्टमा बैंगलोरका लागि उड्न लागेको एउटा जहाजका पाइलटबीच कुटाकुट भएको थियो । पाइलटबीचको झगडाले यति उग्र रुप लियो कि उनीहरु जहाज उडाउनै छाडेर एयरपोर्टबाट बाहिरिए । यसका कारण जहाज पौने चार घण्टासम्म एयरपोर्टमै रोकियो । पाइलटबीचको कुटाकुटका कारण यात्रुहरु ४५ मिनेटसम्म जहाजमै रोकिएको थियो ।एजेन्सी