हेटौंडा – पूर्व पश्चिम लोकमार्गको हेटौंडा–पथलैया सडकमा सवारी साधन बाहेक अरुको आवाज बिहीबार बिहान भनिएपनि मध्य रातको करिब एक बजे थिएन । मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको रात्री बस पनि यही सडकमा गुड्दै थियो ।
काठमाडौंबाट हिडेको बस बारा र मकवानपुरको सीमा स्थलमा रहेको प्रसिद्ध धार्मिक स्थल चुरियामाई मन्दिर अगाडि पुग्दा मध्य रात भएको थियो । प्रायः यात्रुहरु निन्द्रामा थिए । भारत राजस्थानका ६३ बर्षीय धरम सिंह पनि यही बसमा सवार रहनु भएको थियो । चुरियामाईको मन्दिर अगाडि पुगेपछि बसभित्र रहेका र निन्द्रा खुलेकाहरुले चुरियामाईको दर्शन गरे ।
धरम सिंहले पनि गर्नुभयो । ओरालो बाटो अनि साँघुरो सडकका कारण बस भने नियन्त्रित हुने कुरै थिएन । बेला बेलामा बस हल्लिदा धरम सिंहको मनमा चिसो पसेको थियो तर चुरियाको त्यही ओरालो कट्न नपाउदै बस एकैचोटी ग¥यामगु¥लुम लड्यो अनि कति यात्रुहरुले ऐया समेत भन्न पाएनन् । होसमा आउदा भने धरम सिंह हेटौंडामा रहेको चुरेहिल अस्पतालको शैयामा हुनहुुन्थ्यो ।
बुधबार काठमाडौं महोत्तरीका लागि हिडेको बसमा धरम सिंह पनि सवार हनु भएको थियो । उहाँ सहित १९ जना घइते भएको सो दुर्घटनामा परी उहाँकै ६ जना सहित सातजनाले ज्यान गुमाउन परेको छ । यसअघि २०७९ साल असोज २० गते पनि सोही स्थान नजिक यात्रु बाहक बस दुर्घटना हुँदा १६ जना यात्रुहरुको ज्यान गएको थियो ।
हेटौंडादेखि बाराको पथैलैयासम्मको सडकमा अत्याधिक सवारी दुर्घटना हुनुमा सांघरो सडक अनि चालकको लापरवाही नै रहेको पाइएको छ । बिहीबारको घटनामा पनि चालकको लापारवाही रहेको र उनले मदिरा सेवन गरेर बस चलाएको दाबी घाइते यात्रुहरुको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले चालकका लापारवाही र साँघुरो सडककै कारण यात्रुहरुको अनाहकमा ज्यान गएको बताउनुभयो ।
डिभिजन सडक कार्यालय हेटौंडाले सडक बिस्तार नगर्दा पनि सो स्थानमा अत्याधिक सवारी दुर्घटना हुन गरेको चालकहरुको अनुभव छ । सडक चौडा नगरेसम्म सो स्थानमा अझैपनि सवारी दुर्घटनाको जोखिम कायम नै रहेको चालकको भनाइ छ तर डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादवले भने पूर्व पश्चिम राजमार्गको हेटौंडा बजारको सडक नै चौडा गर्न नपाएका कारण पनि अन्य सडकहरु बितार गर्न नसकिएको बताउै आएका छन् ।
दुर्घटनामा परी भारत राजस्थान बस्ने ६७ बर्षीय बहादुर सिंह, ६० बर्षीया सत्यवती, ७० बर्षीय राजेन्द्र चतुरबेदी, ६५ बर्षीय श्रीकान्त चतुरबेदी, ६७ बर्षीया बैजन्ती देवी, ६५ बर्षीया मिरा देबी र महोत्तरी लोहारपटी नगरपालिका ५ बस्ने ४१ बर्षीय बिजय लाल पण्डितको घर पुग्ने सपना अधुरै रहेको छ । काठमाडौंको पशुपति मन्दिर लगायतका धार्मिक स्थलहरु घुमेर घर फर्कदै गरेका उनीहरुको सपना दुर्घटनामा परेको बस चक्नाचुर भए झैं सदाका लागि अन्त्य भएको छ ।