प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

रुपचन्द्र बिष्टको ब्यबहार र आदर्शबाट धेरै कुरा अनुशरण गर्नु पर्छ : मन्त्री शशी श्रेष्ठ

२०७९ असार ८, बुधबार ०५:२७ बजे

मकवानपुर – रुपचन्द्र बिष्ट स्मृति दिवसका अवसरमा मंगलबार थाहा नगरमा भएको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले रुपचन्द्र बिष्टको व्यवहार र आदर्शबाट अहिलेका पुस्ताले अनुसरण गर्नु पर्ने कुरा धेरै रहेको बताउँनुभयो ।

उहाँले थाहा नाम नै काफी भएको र सबैले रुपचन्द्रको आदर्शलाई सार्थक बनाउदै अघि बढे सफल हुने बताउनुभयो ।

थाहा नगरपालिकाद्धारा मंगलबार बिकासघर शिखरकोटमा आयोजित थाहा अभियानका प्रणेता रुपचन्द्र विष्टको २३औं स्मृति दिवस कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले रुपचन्द्र बिष्टले गरिब,निमुखा, झुत्रे, छाप्रे भनी चिनाईएकाहरुको पक्षमा काम गर्नु भएकोले आफुले पनि उहाँको प्रेरणा अनुसार संविधान प्रदत्त अधिकारको सुनिश्चितता गर्दै भूमि अधिकारबाट बञ्चित भएकाहरुलाई लालपुर्जा वितरण अभियान संचालन गरेको बताउनु भयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य लिलामणी पोख्रेलले रुपचन्द्र विष्ट बहुप्रतिभाशाली दार्शनिक भएको बताउँदै उहाँको आर्शलाई किम्बदन्ती मात्र नबनाउन आग्रह गर्नुभयो ।

रुपचन्द्रसँगको संस्मरण सुनाउँदै नेता पोख्रेलले थाहा नगरले शुरुवात गरेको स्थानीय पाठ्यक्रम मार्फत नयाँ पुस्तालाई रुपचन्द्रको आदर्श बुझाउन र ती आदर्श पहिल्याउन अभिप्रेरित गर्नुपर्ने बताउनु भयो ।

थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर बिष्टले रुपचन्द्रको सम्मान र सम्झनामा थाहा अभियान र आन्दोलनलाई जिवन्त राख्न स्मृति दिवसको दिन विदा दिन माग उठेकाले आगामी नीति तथा कार्यक्रममा समेट्दै नगरको कार्यपालिका बैठकबाट आवश्यक निर्णय लिईने बताउनु भयो ।

रुपचन्द्रको नाम भन्दा जहाँ पनि आफुलाई गौरबहुने बताउँदै प्रमुख विष्टले नगरका सबै काम कार्यबाही गर्दा रुदानेको आदर्श सम्झेर गर्ने बताउनु भयो ।

कार्यक्रममा थाहा नगरपालिकाको उपप्रमुख भरत गोपाली, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटि सदस्य ज्योती रायमाझी, लबशेर बिष्ट, इन्द्रबहादुर श्रेष्ठ, भुमी आयोग मकवानपुरका सदस्य अरुण रायमाझी, जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्की, रुपचन्द्र विष्ट स्मारक स्थानिय समितिका अध्यक्ष विमल कुमार बिष्ट, थाहा नगरका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत स्थानिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसैबिच रुपचन्द्र बिष्टको २३ औं स्मृतिमा दिवसकै अवसरमा थाहा नगरपालिका ४ मा रहेको थाहा पार्कमा फलफूलको बिरुवा रोपिएको छ।

थाहा नगरपालिका प्रमुख बिष्णु बहादुर बिष्ट, उपप्रमुख भरत गोपाली, थाहा नगर बन तथा बाताबरण संयोजक हिरेन्द्र कुमार रायमाझी,भूमी आयोग मकवानपुरका सदस्य अरुण रायमाझी, फरक सोचका यादव जंघ रायमाझी, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सुवर्ण गोपाली लगायतको सहभागिता रहेको थियो।

बृक्षारोपणको लागि फलफुलको बिरुवा शितोस्ण बागवानी केन्द्र दामनले उपलब्ध गराएको थियो।राज कुमार के.सी.