प्रहर खबर
 २०८२ आषाढ २८, शनिवार    

मकवानपुरमा दशैंको मौका छोपेर यात्रु लुट्नेलाई कारवाही

२०८० कार्तिक ११, शनिबार ०७:१४ बजे

हेटौंडा – दशैंको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई मकवानपुर प्रहरीले कारवाही गरेको छ । बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले बढी भाडा लिने सवारी कारवाही गरेर यात्रुलाई बढी भाडा वापतको रकम फिर्ता गराएको हो ।

दसैं अवधिभर ट्राफिक प्रहरीले ८ सवारी साधनबाट बढी भाडा वापत २० हजार २५० रुपियाँ यात्रुलाई फिर्ता गराएको जिल्ला ट्राफिक कार्यालय हेटौँडा मकवानपुरका प्रमुख वसन्त आचार्यले जानकारी दिए । बढी भाडा लिन र ट्राफिक नियम पालना गर्नेहरुलाई जनही १ हजारदेखि ५ हजारसम्म जरिवान गरिएको उनले बताए ।

हेटौँडा–काठमाडौं सुमोभाडा दर ६५० तोकिए पनि यात्रुसँग १८ सयदेखि १२ सयसम्म लिएको भेटिएपछि प्रतिव्यक्ति ५५०/१५० सम्म रकम फिर्ता गराइएको आचार्यले बताए। सर्लाही–काठमाडौं १२ सय भाडादर तोकिएको भए पनि दुई हजारसम्म लिएकोमा प्रतिव्यक्ति आठ सय रकम फिर्ता गराइएको उनले बताए ।

त्यस्तै, सिमरा–काठमाडौं सुमो भाडादर ८५० तोकिएको भए पनि एक हजारसम्म यात्रुसँग लिएको भेटिएकोमा प्रतिव्यक्ति १५० रकम फिर्ता गराइएको ट्राफिक प्रहरीले जनाएको छ । निजगढ–काठमाडौं ८५० भाडादर तोकिएको भए पनि १५ सय लिएकोमा प्रतिव्यक्ति ६५० रकम फिर्ता गराइएको हो ।

ट्राफिक प्रहरीका अनुसार दसैं अवधिमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १५ जना, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने १३७ सवारी र टिकट नकाट्ने ३१ सुमोलाई कारवाही गरिएको छ ।