प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

मकवानपुर–२ बाट विरोध खतिवडालाई हराउँदै महेश बर्तौला निर्वाचित

२०७९ मंसिर ८, बिहीबार ०८:०९ बजे

हेटौंडा – मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार महेश बर्तौला प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

बर्तौलाले सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजारभन्दा बढी मत अन्तरले पराजित गरेका हुन् । पार्दै

मुख्य निर्वाचन अधिकृत कार्यालय मकवानपुरका अनुसार ८६ हजार ३१ मत खसेकोमध्ये बर्तौलाले ३४ हजार ९१६ मतसहित विजयी भए । खतिवडाले ३० हजार ३९६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाउँदा राप्रपाका राजन मैनालीले २ हजार १ सय ९४ मत प्राप्त गरे ।

खतिवडा यसअघिका २०४८, ०५१, ०५६ र ०७४ मा निर्वाचित भएका थिए । २०४६ सालमा बहुदल स्थापनापछिका सबै चुनाव जित्दै आएका खतिवडा विरोधको यो पहिलो हार हो ।

२०४८ सालदेखि संसदीय निर्वाचन जित्दै आएका उनी २०७४ मा पनि निर्वाचित भएका थिए । २०३५ सालदेखि सक्रिय राजनीतिमा थिए खतिवडा । पहिलोपटक उनी २०४८ सालमा भएको आमनिर्वाचनमा विजयी भएका थिए । खतिवडाको अपराजित यात्रामा पूर्ण विराम लगाउने बर्तौला उनकै राजनीतिक चेला हुन् ।