प्रहर खबर
 २०७९ भाद्र २, बिहीबार    

मकवानपुरगढीमा गठबन्धनको जितसंगै खानीदेखि खोलासम्म ब्यापक दोहन हुने आशंका

२०७९ असार ११, शनिबार २०:४० बजे

हेटौंडा – यही जेष्ठ २७ गते शुक्रबार प्रहर खबर डटकमबाट शिवम सिमेन्ट उद्योगको सेटिङमा अवैध काम शिर्षकमा समाचार प्रकाशित भयो । त्यसको भोली पल्ट जेठ २८ गते सामरी खोला दोहनको बिषयमा राष्ट्रिय देखि स्थानीय सञ्चारमाध्यमा समाचार प्रकाशित भयो ।

पहिलेका नेतृत्वले सेटिङमा नदी तथा खानीजन्य पदार्थ दोहन गरे भन्थे, यो चुनावबाट नेतृत्व परिर्वतन भइसकेको छ, फेरी कस्को सेटिङ्गमा भयो दोहन ? यस्ता गम्भीर प्रश्न मकवानपुरगढीका स्थानीयहरु गर्छन । यो प्रश्नको सही उत्तर न गाउँपालिकाले दिन सक्छ, न स्थानीय प्रशासनले नै ।

शिवमले सयौ टिप चुनढुङ्गा खानीबाटै पाउडर उद्योग(लक्ष्मी लाइम)मा अबैध निकासी ग¥र्यो । अनि सामरी खोलाबाट अवैध तरिकाबाट नदीजन्य पदार्थ क्रसर उद्योगले उठायो । क्रसरको हकमा केही रकम असुले पनि शिवम सिमेन्टको हकमा चुइक्क बोल्न सकेन ।

यही बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाले नयाँ नेतृत्व पाएको छ । जसमा नेपाली कांग्रेसले अध्यक्ष सहित ६ वटा वडामा जितेको छ । यसअघि गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित ४ वडा जितेको एमालेले दुई वडा मात्रै जितेको छ भने नेकपा माओवादी केन्द्रले उपाध्यक्ष जितेको छ । जहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादी बिच गठबन्धन भएको थियो । हाल मकवानपुरगढीको गाउँ कार्यपालिकामा कांग्रेसको एक्कल बहुमत छ ।

यहाँ कांग्रेसको एक्कल बहुमतको स्थानीय सरकार आएपछि प्राकृतिक स्रोतको दोहन बढ्ने ब्यापक चर्चा सूरु भएको छ । गाउँपालिकाबाट नदिजन्य पदार्थ र चुनढुङ्गा अबैध तरिकाबाट निकासी भएको समाचार बाहिरिएपछि चर्चा सूरु भएको हो ।

सम्पन्न निर्वाचनको परिणाममा नेपाली कांग्रेसको पक्षमा आउनुमा शिवम सिमेन्ट उद्योगको ठुलो भुमिका रहेको कारण प्राकृतिक स्रोतको दोहन बढ्ने चर्चा भएको हो । नेपाली कांग्रेसका उम्मेदवार विजयी गराउनका लागि शिवमले ठुलो रकम खर्चिएको समेत चर्चा छ ।

कांग्रेसबाट बिजयी उम्मेदवारहरु शिवमले आफ्नो लागि रकम खर्चिएको गलत प्रचार गरिएको बताउँछन् । हल्लाको पछाडी नलाग्न उनीहरुले आग्रह गरेका छन् । तर बिगतका घटना क्रम र बास्तविक धरातलबाट नियाल्ने हो भने अलि फरक देखिन्छ ।

उनिहरुले सो कुरा अस्वीकार गरेपनि केहि तथ्यहरुले कांग्रेसका अधिकांश नेतादेखि कार्यकर्तासम्म शिवम सिमेन्ट उद्योगबाट लाभ लिइरहेका छन् । शिवमले अधिकांश सामाजिक उत्तरदायित्वका कामहरु हुँदा कांग्रेस निकट जनप्रतिनिधि र कार्यकर्ताहरुबाट गर्ने गराउथ्यो । सो काम आफुखुशी मापदण्ड विपरीत र गुणस्तरहीन भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार समेत बनेको थियो ।

यती मात्र होइन । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँको शिवम सिमेन्ट उद्योगसंग राम्रो ब्यवसायीक सम्बन्ध छ । उनको ठुलो संख्यामा टिपर कच्चा पदार्थ(चुनढुङ्गा) ढुवानी र उत्खननमा स्काभेटर प्रयोग भएको छ ।

यसअघिको नेतृत्वले स्थानीयको विरोधपछि एक चुनढुङ्गा खानी बन्द गराएको थियो भने खानी थप गर्ने प्रस्तावमा बाधक बनेको थियो । खानी थप गर्नको लागि शिवम जति रकम खर्च गर्न पनि तयार थियो । तर, पैसाबाट काम नहुने भएपछि आफु निकट नेतृत्व ल्याउन चाहान्थ्यो ।

अहिले नेता बानियाँको रोजाईको उम्मेदवारले मकवानपुरगढीमा जितेको छ । हाल मकवानपुरगढीमा ७ र ८ मा खानी नियमित सञ्चालनमा छ । त्यसमध्ये केही चुनढुङ्गा खानीमा सभापति बानियाँको हैकम चल्छ । त्यहाँ बानियाँले उत्खनन् गर्छन । अनि उद्योगसम्म पुर्याउने जिम्मा पनि बानियाँले नै लिएका छन् । बानियाँ निर्माण सेवालाई उकास्ने नै त्यही मकवानपुरगढीको प्राकृतिक स्रोत भन्दा फरक पर्दैैन ।

शिवम र बानियाँबिच ब्यवसायीक मात्र होइन । राजनीति सहकार्य छ । सहकार्यलाई अझ बजबुद पनि बनाउन चाहान्छ । मजबुद बनाउँनका लागि नेता बाँनियाले शिवमको प्रस्ताव अनुसार काम गर्नु पर्ने हुन्छ । शिवम सिमेन्ट उद्योगले नेता बानियाँमार्फत मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान सहित केही जनप्रतिनिधिलाई गाडी वितरण गर्न लागिएको चर्चा समेत भइरहेको छ ।

चुनढुङ्गा खानी गाउँपालिकाको वडा नं.७ र ८ मा छ । सो क्षेत्रमा शिवम सिमेन्ट उद्योगले चुनढुङ्गा उत्खनन् गर्न सुरु गरेको एक दशक बढी भयो । शिवमले चुनढुङ्गा उत्खनन सुरु गरेदेखि हालसम्म हालीमुहाली आफु खुशी मापदण्ड विपरीत उत्खनन् गर्ने, गाउँपालिकाको कृषकको प्रमुख आधार सामरी खोला कुरुप बनाउने देखि टिपरआत्तङ्क सम्म मच्चाएको छ ।

स्थानीयले विभिन्न माग सहित ब्यापक विरोध गरेपनि शिवमले कुनै चासो देखाएको छैन । शिवमले उल्टै आइपर्ने समस्या समधान गर्न भन्दै विभिन्न ब्यक्तिलाई मासिक रुपमा रकम (तिग्रे भत्ता) वितरण गर्ने गरेको समेत स्थानीय आरोप लगाएका छन् । त्यस्तै सोहि ब्यक्तिको अधिनमा रहने गरी प्रत्येक वडाका लागि स्काभेटर उपलब्ध गराएको छ । सबैभन्दा बढी प्रभावित वडामा १२ महिना नै पठाउने गरेको उद्योग स्रोतले बतायो ।

चुनढुङ्गा वडा नं.२ हुँदै उद्योगमा ढुङ्गा ढुवानी गरिन्छ । ढुङ्गा ओसारपसार गर्दा सबैभन्दा बढी वडा नं.७ र २ का बासिन्दा प्रभावित भएका छन् । खानी उत्खनन् गर्दा निस्किएको ओभर वडेनको कारण सामरी खोला उर्लिदा वडा नं.२ देखि ७ का स्थानीय प्रभावित भएको छन् । विषेश गरि खोला किनारमा घर तथा जग्गा जमिन हुने बढी प्रभावित छन् ।

त्यस्तै वडा नं.५ मा हेटौंडा सिमेन्ट उद्योगको चुनढुङ्गा खानी पनि छ । सो खानी स्थानीयहरुको विरोध पछि हाल बन्द रहेको छ । सो खानी संचालनको लागि पनि स्थानीय चुनावमा ठुलो चलखेल सुरु भएको स्थानीयको भनाई छ ।

गाउँपालिकामा हाल नदिजन्य पदार्थ निकासी बन्द छ । तर निकासी रोकिएको छैन । मौसम खुलेको समयमा नदिजन्य पदार्थ निकासी भइरहेको स्थानीयहरु बताउँछन् । आगामी आर्थिक बर्षमा गाउँपालिकाले नदिजन्य पदार्थबाट ६ करोड राजस्व संकलन गर्ने गर्ने अनुमान गरेको छ । पछिल्लो राजस्व संकलन तथ्याङ्क हेर्दा घट्दो छ । आव २०७५/०६७ मा ५ करोड ६० लाख, ०७६/०७७ मा ६ करोड ४२ लाख संकलन हुँदा ०७७/०७८ मा ह्वातै घटेर ३ करोड ४३ लाख र ०७८/०७९ मा ४ करोड ३६ लाख राजस्व संकलन गरिएको गाउँपालिकाले जनाएको छ ।

फाइल तस्बिर