प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

खाने तेलको मूल्य व्यापारीलाई मात्रै घट्यो, उपभोक्तालाई कहिले ?

२०७९ आश्विन १०, सोमबार ०३:५० बजे

काठमाडौं – खाने तेलको मूल्य घट्यो भनेर सञ्चारमाध्यममा समाचार आउने गरे पनि आमउपभोक्ताले मूल्य घटेको महसुस गर्न पाएका छैनन् । खाने तेल उत्पादकले प्रतिलिटर ५० रुपियाँसम्म घटेको बताए पनि खुद्रा बिक्रेता र उपभोक्ताले भने १५–२० रुपियाँसम्म घटेको बताउँछन् ।

नेपाल वनस्पति घिउ, तेल उत्पादक सङ्घले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट तथा सरकारले भन्सार महसुल घटाएका कारण खाने तेलको मूल्य घटेको जनाएको छ ।

नेपाल खुुद्रा व्यापार सङ्घका नवनिर्वाचित अध्यक्ष पवित्र वज्राचार्यले भने सङ्घले मूल्य घटेको भनेको खाने तेल बजारमा आइनपुुगेको बताउनुभयो । प्रतिलिटर १५–२० रुपियाँ घटेको जानकारी दिँदै उहाँले भन्नुुभयो, “उद्योगीले घटाएका होलान्, हामी उद्योगमा बढाउनेबित्तिकै पनि बढाउँदैनाँै र घटाउनेबित्तिकै पनि घटाउन सक्दैनौँ किनभने हामीले पहिलेको मूल्यमा खरिद गरेको हुन्छ ।”

उत्पादक सङ्घका अनुसार बजारमा उद्योगले तोकेको मूल्य प्रतिलिटर तीन सय रुपियाँ थियो, अहिले २१० रुपियाँसम्म पनि झरेको छ तर उत्पादक सङ्घको यस मूल्यलाई खुद्रा व्यापार सङ्घको मूल्यसूचीसँग भने मेल खाँदैन । खुद्रा व्यापार सङ्घको असोजको मूल्यसूचीअनुसार तोरीको तेल प्रतिलिटर मूल्य ३७०, भटमासको तेल २५५ तथा सूर्यमुखी तेल २९० रुपियाँ छ ।

सरकारले भदौ २१ गते कच्चा तोरीको भन्सार महसुल ५ प्रतिशतबाट १ प्रतिशतमा र अन्य कच्चा तेलको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशत कायम गर्ने निर्णय गरेको थियो । असारमा तोरी तेलको उद्योग मूल्य (फ्याक्ट्री मूल्य) प्रतिलिटर ३२० रुपियाँ, सनफ्लावरको प्रतिलिटर ३३० रुपियाँ, सोयाबिनको तीन सय, पाम तेल २२५ रुपियाँ पुगेको थियो ।गोरखापत्र दैनिकबाट