हेटौंडा – प्रहरीले चोरीको मोटरसाइकल सहित एक युवकलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–१ वाङथली घर भएका २७ वर्षीय पेमा तामाङलाई चोरी गरेको मोटरसाइकल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं बालाजु बाइपासस्थित सडक किनारमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०२(०२४ प ८५५० नम्बरको मोटरसाइकल गत भदौ ६ गते चोरी भएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त चोरीको मोटरसाइकलसहित तामाङलाई पक्राउ गरेको हो ।
उक्त चोरीको मोटरसाइकल गोकर्णेश्वर नगरपालिका–६ नयाँवस्तीबाट नक्कली नम्बरप्लेट राखेर चलाइरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । उनलाई चोरी गरेको उक्त मोटरसाइकल सहित थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ।