हेटौंडा – बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २५ गते अपराह्न ४ बजेभित्र सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।
आह्वान अनुसार पुस २५ गते अपराह्न ४ बजेभित्र सरकार गठनका लागि दलहरुले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नुपर्नेछ । १०९ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक हुन्छ ।
बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना, नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, नेकपा (एकीकृत समाजवादी) पार्टीका सात, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तीन र हाम्रो नेपाली पार्टीका एक जना सांसद छन् ।