हेटौंडा – हेटौंडाको परिवर्तनका लागि युवा संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिबार हेटौंडास्थित बुद्धचोकमा भएको कार्यक्रममा ४० जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष दिपेश कार्कीले जानकारी दिए ।
विभिन्न अस्पतालमा उपचारको क्रममा रगतको अभाव हुन नदिन र रगतकै अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कार्कीले बताए । संस्थाका पदाधिकारीहरु, समाजसेवी, सर्वसाधारणहरुले रक्तदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेले रक्तदान गर्ने र कार्यक्रममा सहयोग गर्नेहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा हेटौंडा–५ का वडासदस्य ज्ञानु थापा, नेकपा एकिकृत समाजवादीका विद्यार्थी नेता आकाश अधिकारी लगायतको उपस्थिती रहेको थियो ।