प्रहर खबर
 २०८० जेठ १८, बिहीबार    

बागमती प्रदेश खेलकुद: भलिबलमा महिलातर्फ काठमाडौं र पुरुषतर्फ चितवनलाई स्वर्ण

२०८० जेठ ११, बिहीबार १९:०७ बजे

हेटौंडा – जारी दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत भलिबलमा महिलातर्फ काठमाडौं र पुरुषतर्फ चितवनले स्वर्ण जितेको छ ।

बिहीबार हेटौंडास्थित हुप्राचौर खेलमैदानमा भएको फाइनल खेलमा महिलातर्फ काठमाडौंले दोलखालाई २५–५, २५–६ र २५–१२ को सोझो सेटमा हराउँदै स्वर्ण जितेको हो ।

पुरुषतर्फ चितवनले धादिङलाई को ३–१ सेटमा पराजित गर्दै उपाधि जितेको हो । खेलको पहिलो सेट चितवनले २५–१७ जित्दा दोस्रो सेट २२–२५ ले धादिङले जित्यो । तेस्रो सेटमा २८–२६ र चौथो सेटमा २५–१८ ले पराजित गर्दै चितवनले स्वर्ण जितेको हो ।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा भने बेस्ट अफ थ्रीमा भएको थियो । पुरुषतर्फ काठमाडौंले सिन्धुलीलाई २–१ ले र महिलामा चितवनले धादिङलाई २–० ले हराउँदै कांस्य पदक सुरक्षित गर्यो ।

पुरुषतर्फ चितवनका नवीन महतो र महिलातर्फ काठमाडौंकी सलिना बुढा मगर उत्कृष्ट खेलाडी भए । पुरुषतर्फ चितवनका रमेशचन्द्र विक उत्कृष्ट प्रशिक्षक चयन हुँदा विधागतमा उत्कृष्ट स्पाइकरमा मनोज श्रेष्ठ, सेटरमा चितवनका मञ्जिल गुरुङ, ब्लकरमा चितवनकै सुरेश महतो, लिबेरोमा चितवनका समीर थापा, सर्भरमा धादिङका अमन आले उत्कृष्ट घोषित भए ।

महिलातर्फ भने काठमाडौंका कुमार राई उत्कृष्ट प्रशिक्षक चयन भए । महिलाको विधागतमा उत्कृष्ट स्पाइकरमा चितवनकी आरती सुबेदी, सेटरमा काठमाडौंका भावना तामाङ, ब्लकरमा काठमाडौंकी सुमित्रा रेग्मी, लिबेरोमा काठमाडौंकी एन्जिला प्रधान र सर्भरमा काठमाडौंकी निसा महर उत्कृष्ट भए ।

विजेता खेलाडीलाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कृत गरे ।