हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मत पारित भएको छ । आइतबार गाउँ सभाको बाह्रौं अधिवेशनमा पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट सर्वसम्मत पारित भएको हो ।
पालिकाले आगामी आर्थिक वर्षका लागि ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँ बजेट ल्याएको छ । पालिकालाई संघीय सरकारबाट अनुदान मार्फत ३८ करोड २५ लाख १६ हजार ५११ रुपैयाँ र प्रदेशबाट ८ करोड ७२ लाख ५९ हजार १६९ रुपैयाँ प्राप्त भएको थियो । यसैगरि आन्तरिक राजश्व, घरजग्गा रजिष्ट्रेसन दस्तुर, दहत्तर बहत्तर कर र अन्य गरि १ करोड ६२ लाख आय रहेको छ ।
पालिकाले शिक्षातर्फ ९७ लाख १३ हजार, स्वास्थतर्फ २३ लाख ५० हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ २२ लाख, युवा तथा खेलकुद विकासतर्फ २५ लाख ५० हजार, खानेपानी तथा सरसफाइतर्फ ३० लाख, भाषा तथा संस्कृति प्रबर्द्धनका लागि १५ लाख बजेट विनियोजन गरेको छ । यसैगरी सडक तथा झोलुङ्गे पुल निर्माण गर्न ६ करोड ७९ लाख २२ हजार, भवन तथा शहरी बिकासतर्फ १ करोड १३ लाख ७० हजार, बिद्धुततर्फ ३० लाख, बिज्ञान, सूचना तथा संचार प्रविधितर्फ १० लाख बजेट छुट्याइएको छ ।
कृषि क्षेत्रको लागि ३६ लाख ४ हजार, पशुपंक्षीतर्फ ३० लाख ४१ हजार, घरेलु तथा लघु उद्योग ६ लाख, पर्यटन विकास तथा प्रबर्द्धनतर्फ ३० लाख, सहकारीतर्फ २ लाख, सिचाइतर्फ १४ लाख ५० हजारबजेट विनियोजन गरिएको छ ।
यसैगरि पालिकाले वातावरण तथा विपद् व्यवस्थापनमा ३५ लाख ५५ हजार र संस्थागत बिकास, सेवा प्रवाह र सुशासनतर्फ ४१ लाख ५० हजार रुपैयाँ बजेट निर्धारण गरेको छ । गएको बर्ष पालिकाले ५१ करोड १५ लाख ९८ हजारको बजेट ल्याएको थियो । यो बर्ष गएको बर्षभन्दा करिब २ करोड ५६ लाख रूपैंया कम बजेट ल्याएको छ ।