हेटौंडा – कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल आज आइतबार राति हुँदैछ । लुसिल स्टेडियममा अर्जेन्टिना र फ्रान्सबीच हुने फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
फिफा विश्वकपको उपाधिलाई लिएर विश्वभरका फुटबलप्रेमी दर्शक दुई ध्रुबमा विभाजित भएका छ । नेपालमा पनि फुटबलप्रेमी दर्शकहरु दुई भागमा विभाजित भएका छन् ।
सामाजिक सञ्जालमा पनि फ्रान्सको तुलनामा अर्जेन्टिनाको समर्थकहरुको सक्रियता बढी देखिन्छ । नेपालमा पछिल्लो चार घण्टाको अवधिमा फ्रान्सको तुलनामा अर्जेन्टिनाको धेरै चर्चा भएको देखिन्छ ।
यसैवीचमा हेटौंडा एक युवकले अर्जेन्टिनाको जितको कामना गर्दै ग्रह शान्ति पूजा गरेपछि चर्चा चुलिएको छ । शनिवार मकवानपुरको हेटौँडा-११ नवलपुरका सागर घिमिरेले आफ्नै घरमा अर्जेन्टिनाको जितको लागि पूजा गरेका हुन् ।
ती युवकले विश्वकप फुटबल आफ्नो अन्तिम खेल खेल्न तयारीमा रहेका अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको नाममा ग्रह शान्ति पूजा गरिएको बताए । 'मेस्सीको समकालिन फुटबलका महान खेलाडी हुनुहुन्छ, उहाँले विश्वकपको अन्तिम खेल खेल्दै हुनुहुन्छ,' उनले भने, 'मेस्सीले विश्वकपको उपाधि सहित फुटबल इतिहासबाट सम्मान जनक विदाई भएको हामी समर्थकहरु हेर्न चाहान्छौँ ।'
मेस्सीले सन् २००६ को विश्वकपमा १८ बर्षकै उमेरमा मेस्सीले सर्भियाविरुद्धको डेब्यू खेलमै गोल गरेका थिए । जारी विश्वकपमा मेस्सीले ५ गोल र तीन असिस्ट गरेका छन् । उनीसंगै फ्रान्सका किलियन एम्बाप्पेले पनि पाँच गोल गरेका छन् ।
अर्जेन्टिना र फ्रान्स दुवैले दुई/दुई पटक विश्वकपको उपाधि जितिसकेका छन् । अर्जेन्टिनाले सन् १९७८ आफ्नै घरेलुमैदान र सन् १९८६ मा मेक्सीकोमा विश्वकपको उपाधि जितेको थियो । अर्जेन्टिनाले १९८६ पछिको विश्वकपको उपाधि हात पार्न सकेको छैन । अर्जेन्टिना यसअघि ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपको फाइनलमा पुगेर जर्मनीसँग पराजित भएको थियो ।
फ्रान्सले सन् १९९८ मा घरेलुमैदान र सन् २०१८ रुसमाभएको विश्वकपको उपाधि जितेको थियो । फ्रान्स लगातार दोस्रो पटक विश्वकपको उपाधि हात पार्ने योजनामा छ । उता अर्जेन्टिना फ्रान्सलाई रोक्दै ३६ वर्षपछि विश्वकपको उपाधि हात पार्ने दाउमा छ ।